कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय फिर्ता लिन नेता नेपालको माग
४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको छ।
नेता नेपालले सरकारको निर्णयलाई आपत्तिजनक, विभेदकारी र गैरजिम्मेवार भन्दै अविलम्व फिर्ता लिन माग गर्नुभएको हो ।
विज्ञप्ति निकालेर नेता नेपालले संक्रामक रोगसम्बन्धी विद्यमान कानूनी प्रावधानले पनि सरकारलाई यो दायित्व सुम्पिएको छ भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
सबै नागरिकको उपचार गर्नुपर्नेमा थप आतंक सिर्जना हुने गरी सरकारले निर्णय गरेको नेता नेपालको आरोप छ । सरकारको निर्णयले कोरोना संक्रमित नागरिक थप मारमा परेको नेपालको ठहर छ ।
संकटका बेला राज्य अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा अनुचित निर्णय भएको भन्दै नेपालले दायित्वबाट विमुख नहुन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
प्रतिक्रिया