Main News

अन्तर्राष्ट्रिय सिमानामा हुने आवागमन कात्तिक ३० गतेसम्म बन्द रहने

हिमालय टिभी
२०७७ कार्तिक ४ गते ७:१७
अन्तर्राष्ट्रिय सिमानामा हुने आवागमन कात्तिक ३० गतेसम्म बन्द रहने

४ कात्तिक, २०७७ काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन कात्तिक ३० गते सम्मका लागि स्थगित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।

तर १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

यस्तै छोटो, मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्‍न पाउने र चैत ११ गते अगाडिकै भाडादर कायम हुने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट पारित भएको छ ।

मन्त्रिपरिषद बैठकले २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

यसबाहेक ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

यस्तै बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन गरेको छ। जसमा उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओली अध्यक्ष तोकिनु भएको छ भने सदस्यहरूमा भोजपुरको षडानन्द नगरपालिकाका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौर गाविसका निशा बानियाँ हुनुहुन्छ ।

त्यसैगरी बाजुराका नरेश रोकायालाई सरकारले नेपाल ट्रस्टको सदस्यमा नियुक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *