सरकारी अस्पतालहरुले कोरोना संक्रमितसँग उपचार खर्च असुल्न थाले
३ कात्तिक, २०७७ काठमाडौं । सरकारी अस्पतालले कोरोना संक्रमितसँगै उपचार खर्च माग्न थालेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको जानकारी दिएलगत्तै अस्पतालले संक्रमितसँगै पैसा असुल्न थालेका हुन् ।
काठमाडौंस्थित सिभिल अस्पतालले सूचना नै निकालेर संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने बताएको छ । उसले संक्रमितसँग १० देखि १५ हजार रुपैयाँ धरौटी लिन थालेको छ । यस्तै खानका लागि अस्पतालको क्यान्टिनमा नगद जम्मा गर्न पनि भनेको छ ।
यस्तै शिक्षण अस्पताल महाराजगञ्जले पनि आजदेखि कोरोना संक्रमितसँग शुल्क लिन थालेको छ ।
सामान्य लक्षण भएका संक्रमितले हरेक दिन औसतमा सरकारी अस्पतालमा ३५ सय, मध्यम लक्षण भएकाले ७ हजार र आईसीयूमा भर्ना हुनेहरुले दिनको १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
वीर अस्पताल र पाटन अस्पतालले पनि यो निर्णय छिट्टै लागू हुने जनाएका छन् ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले भने गाइडलाइन बनाएर लागू गर्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय नागरिक तथा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा परीक्षण र उपचार निःशुल्क गर्ने भनेको छ । तर उनीहरुले कोरोना बीमा गरेको भए उपचार खर्च बीमा रकमबाट नै काटिनेछ ।
प्रतिक्रिया