Main News

दशै‌ंमा घर जाने यात्रु घटेः लामो दूरीका बस पनि खाली गुड्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते १९:१५
दशै‌ंमा घर जाने यात्रु घटेः लामो दूरीका बस पनि खाली गुड्दै (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन् । विगतका वर्षमा घटस्थापनादेखि काठमाडौं बाहिर जाने मुख्य नाका कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड हुने गरेकोमा यसपाली भने अवस्था फरक छ ।

विगतमा दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दासमेत सहजै यात्रा गर्न समेत मुस्किल पर्थ्यो भने व्यवसायीलाई बस व्यवस्थापन गर्न हम्मे(हम्मे हुन्थ्यो ।

तर यसवर्ष भने दशैं सुरु भइसक्दासमेत कोरोना संक्रमणका कारण काठमाडौंका मुख्य नाका‍ सुनसान छन् । सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा गाडी चलाउन अनुमति दिए पनि यात्रु छैनन् ।

पुरानै भाडादर कायम भए पनि यात्रु पाउन कठिन भएको सवारी चालक बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रु घटेको चालकको बुझाई छ ।

यात्रुले सुरक्षित महशुस गरेका छैनन् । पूर्ण क्षमतामा यात्रु राख्दा कोरोना सर्ने त्रास यात्रुमा देखिन्छ । अझ सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नहुने र मास्क तथा सेनिटाइजरको प्रयोग नहुँदा असुरक्षित महशुस हुने गरेको यात्रु बताउँछन् ।

दशैंमा धेरै घर जान चाहने भएकाले सरकारले पूर्ण क्षमतामा लामो दूरीका गाडी खोलेको छ । तर कोरोना संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहले जो जहाँ छ त्यहीँ दशैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि काठमाडौंबाट घर फर्किनेको संख्या न्यून छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *