Main News

तनहुँ कारागारका कैदीबन्दीले पठाउन थाले दशैंका लागि घर खर्च (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते १४:५५
तनहुँ कारागारका कैदीबन्दीले पठाउन थाले दशैंका लागि घर खर्च (भिडियोसहित)

२ कात्तिक, २०७७, तनहुँ । तनहुँ कारागारका कैदीबन्दीले दशैंका लागि घर खर्च पठाउन थालेका छन् । बाँसको मुढा बेचेर आएको रकम उनीहरुले घर खर्च पठाउन थालेका हुन् ।

तनहुँका कैदीबन्दीले कारागारभित्रै बाँसका मुढा बनाउने गरेका छन् । उनीहरुले बनाएको बाँसको मुढा बेचेर दशैंका लागि घर खर्च पठाउन थालेका हुन् । कारागारभित्र बनेका मुढाले उचित बजार पाएकाले कैदीबन्दीले कारागारभित्रै आम्दानी गर्दै आएका छन् । उनीहरुले दैनिक ५०–६० वटा मुढा तयार गर्ने गरेका छन् । कैदीबन्दीले बनाएका मुढा आकर्षक, गुणस्तरीय र टिकाउ हुने भएकाले बजारमा माग अत्यधिक हुने गरेको छ ।

बाँसको मुढा बुन्न टायर, रंग, बाँस, चुरी, रिंग, डोरी लगायतका कच्चा पदार्थ चितवन, तनहुँका बजारबाट ल्याउने गरिएको छ । कारागारमा उत्पादन भएका मुढा दमौली, आँबुखैरेनी, पोखरा, बेशीशहर, गोर्खा लगायतका बजारमा बिक्री हुने गरेको छ ।

उनीहरुले न्यूनतम २ सय ५० देखि ३ सय ७५ सम्ममा मुढा बिक्री गर्दै आएका छन् । स्पेशल मुढाको भने ५ सय ५० सम्म पर्छ । अर्डर अनुसार कैदीबन्दीले १५ हजारसम्मका बाँसका डाइनिङ टेबलहरु निर्माण गर्ने गरेका छन् ।

तनहुँ कारागारका दुई वटै ब्लकमा रहेका १ सय जना कैदीबन्दीले मुढा बिक्रीबाट आएको रकम दशैं खर्च भनेर घर पठाएका छन् ।

कैदीबन्दीले तयार गरेको बाँसको मुढा अघिल्ला वर्षहरुमा स्टक हुने गरे पनि यो वर्ष कोरोना संक्रमणका कारण लकडाउनका बेलासमेत गोदामको स्टक सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *