नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष सम्मान लिन नेपाल आउँदै
२९ असोज, २०७७ काठमाडौं । नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरावणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन कात्तिक तेस्रो साता काठमाडौं आउने भएका छन्।
नेपाल सरकारले गत माघमै नरावणेलाई मानार्थ महारथीको सम्मान दिने निर्णय गरेपनि कोरोना संकट र नेपाल–भारत सम्बन्ध चिसिएपछि उनको भ्रमण रोकिएको थियो।
गत जेठमा नेपालको अतिक्रमित भूभागमा भारतले गरेको सडक उद्घाटनको नेपालले विरोध गरेको थियो। त्यसबेला नरावणेले नेपालले चीनको इशारामा भारतको विरोध गरेको टिप्पणी गरेका थिए।
जसको नेपाल र भारत दुवैतर्फ विरोध भएको थियो। नरावणेको नेपाल भ्रमण परम्परागत भएपनि त्यसले दुई देशको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषकहरुले बताएका छन्।
कतिपयले यसलाई चीनसँग तनाव बढिरहेका बेला भारतले छिमेकीहरुसँगको सम्बन्ध सुधारका लागि गरेको सैन्य कूटनीतिक प्रयासका रुपमा पनि अर्थ्याएका छन्।
प्रतिक्रिया