सरकारले काठमाडौंका कोभिड अस्पतालहरुको अनुगमन र व्यवस्थापन गर्ने

२८ असोज, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार गर्ने काठमाडौंका अस्पतालको अनुगमन र व्यवस्थापन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कोभिड वेड र कर्मचारीको व्यवस्थापन गर्ने तथा प्राथमिक उपचार नदिने अस्पताललाई कारबाहीको सिफारिस गर्ने सम्मको अधिकार दिएर मन्त्रालयका तीन प्रमुख अधिकारीलाई खटाएकोछ ।
मन्त्रालयले नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई कोभिड( नाइन्टिनको उपचार गर्न मन्त्रालयसँग सम्झौता गरेका निजी तथा सामुदायिक अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, किष्ट मेडिकल कलेज, केएमसी मेडिकल कलेज र नेपाल मेडिकल कलेजको जिम्मेवारी दिइएको छ ।
समन्वय महाशाखाका प्रमुख तथा प्रवक्ता प्राडा जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुति गृह, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालको जिम्मा दिइएको छ ।
यस्तै, गुणस्तर मापन महाशाखा प्रमुख डाक्टर विकास देवकोटालाई कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, निजामती अस्पताल र कोभिड—१९ को उपचारमा मन्त्रालयसँग सम्झौता नगरेका निजी अस्पतालहरु जिम्मा दिइएको छ ।
उहाँहरुलाई अस्पताललाई आवश्यक आर्थिक सहयोगको सिफारिस गर्ने, कोभिड र नन कोभिड बिरामीको व्यवस्थापन गर्ने र प्राथमिक उपचार नगर्ने अस्पताललाई कारबाहीको सिफारिससम्मको अधिकार दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया