चाडपर्व लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना तयार

२७ असोज, २०७७ काठमाडौं । नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।
ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो ।
ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ ।
यस्तै, लामो दूरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
ट्राफिक व्यवस्थापन मात्र नभएर चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई छाड्ने, कोरोना संक्रमणपछि लागू गरिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता विषयमा कडाइका साथ निगरानी गरिने एसएसपी ढकालको भनाइ छ ।
प्रतिक्रिया