Main News

लोक सेवा परीक्षामा विभेद: कोरोना संक्रमितले परीक्षा दिन नपाउने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते २०:२६
लोक सेवा परीक्षामा विभेद: कोरोना संक्रमितले परीक्षा दिन नपाउने ? (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरस त्रासका कारण रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै लोकसेवा आयोगले पनि रोकिएका परीक्षाहरु सञ्चालनको तयारी गरेको छ । र परीक्षा सञ्चालनका लागि आयोगले मापदण्ड पनि बनाएको छ । तर आयोगले मापदण्डमार्फत कोरोना संक्रमित परीक्षा सामेल हुन नपाउने भनेपछि यतिबेला आयोग विरोधको भूमरीमा फसेको छ ।

लोकसेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन गर्न परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ जारी गरेको छ । र मापदण्ड अनुसार कोरोना संक्रमितले परीक्षा दिन पाउँदैनन् ।

किनकी आयोगले जारी गरेको मापदण्डमा कोरोना संक्रमित भए नभएको स्वघोषणा गर्नुपर्ने र संक्रमित भए परीक्षामा सामेल हुन नपाउने उल्लेख छ । र आयोगको यही मापदण्ड अहिले विवादमा परेको छ । किनकी मुलुकमा संक्रमितको संख्या दिनहुँ बढ्दो छ । यस्तो बेला को कति बेला संक्रमित हुन्छन् भन्ने पनि ठेगान छैन । त्यसैले संक्रमित भएकै आधारमा परीक्षाबाट बन्देज लगाउनु न्याय संगत नहुने कानूनविद्को तर्क छ ।

हुन त कोरोना संक्रमण भएपछि परीक्षा दिन जाने कुरा नआउन सक्छ । तर निकै मेहनत गरेर पार गरेका परीक्षाका अघिल्ला चरणमा संक्रमण भएकै भरमा सामेल हुन नपाउनुले ठूलो अर्थ राख्छ ।
लोकसेवा आयोग भने यो मान्न तयार छैन । र संक्रामक रोग ऐनले नै संक्रमितलाई हिँडडुलमा प्रतिबन्ध लगाएको भन्दै आयोगले मापदण्ड सच्याउन नसकिने जनाएको छ ।

तर आयोगको यो भनाइमा कानूनविद्को फरक मत छ । कुनै पनि व्यक्तिको शारीरिक अस्वस्थताका कारण उसलाई विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको भन्दै कोरोना संक्रमितका हकमा वैकल्पिक व्यवस्थाबाट परीक्षा सञ्चालनको मापदण्ड बनाउनुपर्ने उनीहरुको तर्क छ ।

कानूनविद्को यो तर्कलाई आयोग भने चुनौति दिन्छ । सामान्य अवस्थामा पनि थुप्रै बिरामी परीक्षामा सामेल नहुने गरेको भन्दै एकाध मान्छे संक्रमित भएकै आधारमा परीक्षा सार्ने वा वैकल्पिक व्यवस्था गर्न सकिन्न । तर अवस्था भयावह भएमा भने परीक्षा स्थगित गर्ने सम्बन्धमा सोच्न सकिने उसको तर्क छ ।

लोकसेवा आयोगका अनुसार शाखा अधिकृतका लागि पहिलो चरण पास गरेका तीन हजार परीक्षार्थी छन् भने सहसचिवका लागि २५ जना छन् । यसबाहेक नायब सुब्वा र खरिदारका लागि ६ हजारभन्दा बढी परीक्षाका लागि तयारी अवस्थामा छन् । मंसिरमा हुने प्राविधिक तर्फको परीक्षाका लागि त १ लाख भन्दा बढीले आवेदन दिएका छन् । यस्तोमा संक्रमित भएकै आधारमा परीक्षाबाट बञ्चित गर्ने विषयले तरंग सिर्जना गरेको छ । त्यसैले सरोकारवालाबाट यसको उचित जवाफ आउनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *