Main News

काठमाडौं : कोरोना नियन्त्रणमा को कहाँ चुक्यो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते २०:१७
काठमाडौं : कोरोना नियन्त्रणमा को कहाँ चुक्यो ? (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । सरकारले काठमाडौंमा कोरोना नियन्त्रणको काम प्रभावकारी नभएको स्वीकार गरेको छ । काठमाडौं बाहिरका स्थानीय तह र जिल्लाले कोरोना नियन्त्रणका लागि उदाहरणीय काम गरे पनि काठमाडौं त्यसमा चुकेको सरकारको निष्कर्ष छ । काठमाडौंमा कोरोना नियन्त्रणका लागि को कहाँ चुक्यो त ?

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणमा सरकार चुकेको बताउनु भएको छ । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भएको काम सन्तोषजनक छैन । संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण डढेलो झैं फैलिएको छ । तर नियन्त्रणका लागि कुनै पहल भएको छैन ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञामा अलपत्र परेका नागरिकलाई राहत दिन होस् वा कोरोना संक्रमितलाई आइसोलेशनमा राख्न नै किन नहोस् काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह चुकेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भदौ ३ गते विज्ञप्ति नै जारी गरेर उपत्यकामा एक सातामा ५ हजार आइसोलेशन बेड बनाउने घोषणा गर्नुभयो । त्यसको २ हप्तापछि मेयर शाक्य आफैं संक्रमित हुनु भयो । पाँच तारे होटल सोल्टीमा आइसोलेशनमा बस्नुभयो । तर पनि काठमाडौंमा आइसोलेशन बेड निर्माणको काम अगाडि बढेको छैन ।

यस्तै भदौ ५ गते मन्त्रिपरिषद्ले बैठकले उपत्यकामा ६ हजार आइसोलेशन वार्ड निर्माण गर्ने निर्णय गरेको थियो । विद्यालय, होटल, सार्वजनिक स्थल , सरकारी कार्यालयहरुमा आइसोलेशन वार्ड बनाउने सरकारको निर्णय थियो । मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयले दुई हजार र स्थानीय र प्रदेश सरकारले उपत्यका चार हजार आइसोलेशन वार्डको निर्माण गर्ने जिम्मेवारी नै दियो ।

तर अहिलेसम्म पनि प्रदेश सरकारले उपत्यकामा आइसोलेशन वार्ड निर्माणका लागि बजेट समेत छुट्याएको छैन । कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गर्ने कामको अनुगमन र निरीक्षण गर्न बनेको संघीय संसदको उपसमितिले प्रदेशसँग आइसोलेशन सेन्टरका लागि ताकेता गरे पनि केही पार लागेन ।

स्वास्थ्य मन्त्रालय भने आफ्नो जिम्मेवारी अनुसार आइसोलेशन वार्ड निर्माण गरिसकेको दावी गर्छ ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्ति अरु व्यक्तिको सम्पर्कमा नआउन भनेर उनीहरुलाई राख्न आइसोलेशन वार्डको आवश्यकता पर्छ । कोरोना संक्रमण भएका व्यक्तिलाई घरमै आइसोलेशन बस्न सम्भव नभए राख्ने गरी सरकारले आइसोलेशन निर्माणको निर्णय गरेको थियो । तर महिना दिन बित्दा पनि आइसोलेशन निर्माणका लागि तदारुकता देखिँदैन । जस्ले गर्दा कोरोना संक्रमितको संख्या अझै थपिने जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *