राजनीति

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव : प्रचण्डमाथि ओलीको हमला (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते २०:१३
मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव : प्रचण्डमाथि ओलीको हमला (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । नेकपा विवाद फेरि सतहमा आएको छ । गत वैशाख ८ गतेबाट उग्ररुप लिएर भदौ २६ गते टालटुल पारी किनारा गरिएको अन्तर्पार्टी संघर्ष कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेता यामलाल कँडेलको अगुवाईमा संसदीय दलका बहुमत सदस्यले अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा दर्ता गराएपछि फेरि ब्युँतिएको हो ।

र, संघमा आफूलाई पारेको समस्याबाट ध्यान मोड्न ओलीले प्रदेशबाट प्रचण्डविरुद्ध फायर खोल्नुभएको छ । यसबाट ओलीले प्रचण्ड र माधवुकमार नेपालबीच पनि अन्तर्विरोध सिर्जना गर्ने कोशिस गर्नुभएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नेकपाले बहुमत हासिल गरेका ६ प्रदेशमध्ये ४ एमाले र २ वटा माओवादी केन्द्रले लिने सहमति भयो । कर्णालीका शाही र सुदूरपश्चिमका त्रिलोचन भट्ट पूर्व माओवादी मुख्यमन्त्री हुुनुहुन्छ । अरु चारै प्रदेशमा ओली निकट मुख्यमन्त्री छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट कोही पनि मुख्यमन्त्री छैनन् । गत भदौ २६ पार्टीभित्रको सम्झौताले संघमा मन्त्रिपरिषद पूनर्गठनदेखि प्रदेशमा मुख्यमन्त्री हेरफेर बाँडफाँड हुने बताईएको थियो । जस अनुसार प्रदेश १ र बागमती प्रदेशमा नेपाल निकटलाई मुख्यमन्त्री बनाएर तीन नेताका दुई दुई जना मुख्यमन्त्री हुने गरी बाँडफाँडको अनुमान थियो । र,ओली र प्रचण्डबीच संघ र प्रदेशमा मन्त्रिपरिषद हेरफेरका लागि लगातार छलफल भैरहेको थियो । तर कुरा मिलेको छैन ।

यही बीचमा ओलीले प्रचण्ड निकट कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावको कार्ड फाल्नुभएको छ । प्रदेश १ र बागमतीको मुख्यमन्त्री फेर्ने प्रस्ताव आउनु अगाडि नै कर्णाली प्रदेशको मुख्यमन्त्री फेर्ने प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीले आप्नो बार्गेनिङलाई बलियो बनाउनुभएको छ ।

कर्णालीका मुख्यमन्त्री फेरिएमा प्रचण्ड अझ कमजोर हुने निश्चित छ । त्यसैले ओलीले संघमा बार्गेनिङ गरिरहेका प्रचण्डलाई प्रदेशको विवादमा धकेलेर माथि आफूले चाहे अनुसार निर्णय गराउने प्रयासमा यो कदम चाल्नुभएको छ ।

ओलीले पछिल्लो कदममार्फत प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीच पनि अन्तर्विरोध सिर्जना गरिदिएको छ । किनकी कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावमा प्रचण्ड खेमाका तीन प्रदेश सांसद मात्रै होईन, वरिष्ठ नेता माधवुकमार नेपाल निकट सांसद पनि छन । अर्थात प्रचण्डले यो विषय सल्टाउन ओलीसँग मात्रै कुरा गरेर पुग्ने छैन, फेरि वरिष्ठ नेता नेपालसँग पनि कुरा गर्नुपर्नेछ ।

कर्णाली प्रदेशमा आकस्मिक रुपमा ओली पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि ओली खेमा भदौ २६ को निर्णय र भदौ २९ गतेको अन्तपार्टी निर्देशनको भावनाबाट पछि हटाएको ठानिएको छ । मुख्यमन्त्री परिवर्तन गर्न ओली पक्ष पहिलेदेखि नै तयार थिएन ।

संघमा मन्त्रिपरिषद पुनर्गठन गर्ने र सबै प्रदेशका प्रदेश सरकारको समीक्षा र पुनरावलोन गर्ने भदौ २६ को सहमति कार्यान्वयन न हुँदै कर्णालीमा अविश्वासको प्रस्ताव ल्याउने हतारोले ओली पक्ष भदौ २६ को सहमति मान्ने पक्ष छैन भन्ने अर्थमा प्रचण्ड र नेपाल पक्षले बुझ्न थालेको निकटस्थ नेताहरुले बताएका छन् ।

भदौ २६ निर्णयको आडमा आफूलाई कमजोर बनाउन खोजिएको निष्कर्षमा पुगेका ओलीले बल प्रचण्डको कोर्टमा फालिदिनुभएको छ । ओलीले फालेको कार्डमा प्रचण्ड र नेपालको रियाक्सन कस्तो हुन्छ हेर्न बाँकी छ । तर पछिल्लो कदमबाट ओलीले प्रचण्डलाई रक्षात्मक बनाई दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्