Main News

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदले गरे अविश्वास प्रस्ताव दर्ता

हिमालय टिभी
२०७७ असोज २५ गते १४:१८
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदले गरे अविश्वास प्रस्ताव दर्ता

२५ असोज, २०७७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकै बहुमत सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आज १८ जना सांसदले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

यसको नेतृत्व यामलाल कँडेलले गर्नुभएको छ । ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सदस्य छन् । जस मध्ये बहुमत अर्थात १८ जना शाहीका विरुद्ध उत्रिएका छन् ।

शाहीले प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

हस्ताक्षर बुझाउनेमा सांसदहरु यामलाल कंडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्बरबहादुर थापा सुशीलकुमार थापा, दान सिंह परियार, पदमबहादुर रोकाया, पद्मा खड्का, कौशिलावति खत्री, पुष्षा घर्ती विष्ट,राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री, डम्बरबहादुर विष्ट, बदमीक्वारी बोहरा र देवी ओली हुनुहुन्छ ।

सं‌विधानको धारा १८८ को उपधारा ४ अनुसार प्रदेशसभामा तत्काल कायम सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ ।

अविश्वास प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएमा मुख्यमन्त्री पदमुक्त हुनेछन् ।

असन्तुष्ट पक्षले अविश्वास प्रस्ताव प्रदेश सभामा लैजानु अघि पार्टी भित्रबाटै समाधान खोज्न चाहेको भन्दै संसदीय दलमा दर्ता गराएका बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *