यो वर्ष फूलपाती बढाइँ सांकेतिक रुपमा मात्र गरिने

२४ असोज, २०७७ काठमाडौं । यस वर्षको फूलपाती बढाइँ सांकेतिक रूपमा मात्रै हुने भएको छ ।
यस वर्ष फूलपाती बढाईँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन गरी सांकेतिक रूपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको हो ।
हरेक वर्ष फूलपाती बढाईँका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरेर हर्षोल्लासका साथ मनाइँदै आइएको थियो ।
कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र कार्यक्रम सञ्चालन गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनु भएको छ ।
यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबारका दिन परेको छ । विगतमा झैं धेरै कार्यक्रम नगरी छोटो बढाईँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
त्यस्तै अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकोमा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलको भनाइ छ ।
प्रतिक्रिया