Main News

सरकार र अनशनरत डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन घोषणाको तयारी

हिमालय टिभी
२०७७ असोज २४ गते ७:२४
सरकार र अनशनरत डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन घोषणाको तयारी

२४ असोज, २०७७ काठमाडौं । सरकार र आमरण अनसनमा रहेका डा. गोविन्द केसीका प्रतिनिधिहरुबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ।

डा केसीको वार्ता टोलीका सदस्यहरुले बिहीबार भएको समझदारीभन्दा पनि सरकार पक्ष पछि हटेपछि सहमति बन्न नसकेको बताएका छन।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसी पक्षबीच हुनै लागेको सहमति भाँडिएको डा केसी पक्षको आरोप छ ।

केसीकातर्फबाट वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले सरकारले वार्ताका नाममा अल्झाउन खोजेको आरोप लगाउनु भएको छ । ६ बुँदे माग राखेर अनशनमा बसेका डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो ।

सहमतिको मस्यौदा सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपीनाथ मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याउनु भएको थियो । सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरिएको थियो ।

अरु सबै विषयमा दुबै टोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनशन शुक्रबार नै तोडाउने तयारी थियो । तर शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरेर चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति राख्न चाहनुभएन ।

साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाउनु भएको थियो । त्यही कारण हुनै लागेको सहमति भाँडिएको बुझिएको छ ।

अब सोलिडारिटी फर डा. केसी, नेपाल चिकित्सक संघ गायतले कडा आन्दोलन गर्ने डा क्षेत्रीले बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *