Main News

कोरोना संक्रमणको दर कसरी भयो तीव्र ? काठमाडौं उपत्यका बढी जोखिममा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २३ गते १९:४८
कोरोना संक्रमणको दर कसरी भयो तीव्र ? काठमाडौं उपत्यका बढी जोखिममा (भिडियोसहित)

२३ असोज, २०७७ काठमाडौं । नेपालमा कोराना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको हो । कोरोना संक्रमणको दर कसरी तिब्र भएको छ त ?

शुरुदेखिकै कोरोना संक्रमणको दर केलाउने हो भने नेपालमा पहिलो केस भेटिएको माघ ९ गतेको ५९ दिनपछि चैत ९ गते मात्र दोश्रो केश भेटिएको थियो ।

अर्थात शुरुमा संक्रमित दोब्बर हुन ५९ दिन लागेको थियो । एकबाट दुई बन्न ५९ दिन लागे पनि २ बाट चार बन्न ६ दिन मात्र लाग्यो अर्थात चैत १४ गतेसम्म जम्मा ४ जनामा संक्रमण थियो । तर चैत २२ गते संक्रमित ९ पुगे ।

वैशाख २५ गते संक्रमितको संख्या १ सय नाघ्यो । अर्थात पहिलो संक्रमण देखिएको १ सय ६ दिनमा सयौं संक्रमित भेटिए । तर सयबाट हजार पुग्न थप १८ दिन मात्र लाग्यो । अर्थात असार ९ गते संक्रमित हजार नाघे । र हजारबाट लाख पुग्न साढे ३ महिना पनि लागेन ।

यो तथ्यांकले शुरुमा संक्रमण दर न्यून भएको र पछिल्लो समय डढेलो झै फैलिएको पुष्टि हुन्छ । पछिल्लो एक महिनामा मात्र ५० हजार संक्रमित भेटिएका छन् र कुल संक्रमित १ लाख नाघेको छ । जबकी पहिलो केस भेटिएको साढे ७ महिनामा ५० हजार संक्रमित पुगेका थिए । तर अर्थात १ बाट ५० हजार बन्न साढे ७ महिना लागे पनि ५० हजार बाट एक लाख पुग्न एक महिना पनि लागेन ।

१ लाख नाघ्दा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३७ हजार ७ सय संक्रमित छन् । काठमाडौंमा मात्रै ३० हजार ५ सय ३ जना ललितपुरमा ४ हजार १ सय २८ जना र भक्तपुरमा ३ हजार ६९ जना संक्रमित छन् । यी मध्ये उपत्यकाबाट २१ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । उपत्यकामा सक्रिय संक्रमित १६ हजार २ सय ५५ जना छन् ।

काठमाडौं उपत्यकापछि कोरोना संक्रमणबाट मोरङ्ग सबैभन्दा धेरै प्रभावित छ । मोरङमा चार हजार ३५ जना, रुपन्देहीमा ३५ सय १३ जनामा संक्रमण देखिएको छ ।

यसैगरी चितवनमा २८ सय ५४ पर्सामा २८ सय ७९ जना संक्रमित छन् । त्यस्तै धनुषामा २१ सय २४ जनामा संक्रमण देखिएको छ । शुरु शुरुमा विदेशबाट आएका र क्वारन्टिनमा बसेकामा संक्रमण देखिएपनि पछिल्लो समय संक्रमण शहरी क्षेत्रमा नै तिब्र बनेको छ । र काठमाडौंमा त नियन्त्रणभन्दा बाहिर जाने हो कि भन्ने चिन्ता पनि देखिएको छ । किनकी हरेक दिन देखिने कुल कोरोना संक्रमितमध्ये आधा वा आधाभन्दा धेरै काठमाडौं उपत्यकामै देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *