धरहरा पुनःनिर्माणको समयावधि नौं महिना थप

२३ असोज, २०७७ काठमाडौं । निर्माणाधीन धरहरा निर्माण समयावधि ९ महिना थपिएको छ ।
कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो ।
त्यसलगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य शुरु गरेको थियो । अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौती रहेको रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठको भनाइ छ ।
लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको श्रेष्ठले बताउनुभयो ।
अहिले सम्म धरहराको १६ तल्ला ढलान भइसकेको छ । त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सकेर ट्रिपल बेसमेन्टको काम भइरहेको छ ।
जसमा ४ सय वटा सानो गाडि र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ । २ सय ५० जना कामदारले निर्माणको काम गरिरहेका छन । २२ तले धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहरा ४२ दशमलव २ रोपनीमा फैलिएको छ ।
प्रतिक्रिया