Main News

शुरु भयो तीन दिने एनआरएन ग्लोबल नलेज सम्मेलन

हिमालय टिभी
२०७७ असोज २३ गते १६:१३
शुरु भयो तीन दिने एनआरएन ग्लोबल नलेज सम्मेलन

२३ असोज, २०७७ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन आजदेखि शुरु भएको छ ।

कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट शुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ ।

देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्यसहित एनआरएनएले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गर्नुभयो ।

विदेशमा रहनुभएका एनआरएनहरुसँग विभन्न क्षेत्रमा लगानी गर्ने क्षमता रहेकाले लगानीसँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन आग्रह गर्नुभएको हो । पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौति रहेकाले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासिय नेपालीको साथ आवस्यक रहेको उहाँले बताउनुभयो ।

नेपालको सहरी विकास, यातायात, रेल्वे, जलविद्युत, कृषि लगायतका क्षेत्रमा लगानी गर्न समेत मन्त्री नेम्बाङले आग्रह गर्नुभयो । बैदेशिक लगानीका लागि सरकारले कानून निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्नपनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी भएका गैर आवासीय नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् ।

खासगरी सम्मेलन सूचना प्रविधि, ऊर्जा, कृषि, यातायात, खाद्य तथा वातावरणलगायत स्वदेशी सरोकारका विषयमा केन्द्रीत हुने पनि उनीहरुले बताएका छन् ।

देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेकाले त्यसलाई उजागर गर्ने उद्देश्यसमेत सम्मेलनले राखेको छ । सम्मेलन आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *