मोरङमा दुई र सुनसरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
२३ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज सुनसरी र मोरङमा दुईदुई जनाको मृत्यु भएको छ ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो। सुनसरीको इटहरी उपमहानगरपालिकाका ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार आज बिहान प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा इटहरी ६ का पुरुषको मृत्यु भएको हो। उनमा असोज २० गते कोरोना पोजिटिभ पुष्टि भएको थियो ।
त्यसैगरी, दुहबीका ५२ वर्षीय पुरुषको पनि आज बिहान २ बजे उपचारकै क्रममा मृत्यु भएको हो । मिर्गौलासम्बन्धी पुरानो समस्या रहेका बिरामीमा असोज १२ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । धरानस्थित वीपी अस्पतालमा हालसम्म ४६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
उता मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीको धरान उपमहानगरपालिकाका ४५ वर्षीय पुरुषको आज बिहान करिब ७ बजे मृत्यु भएको हो । धरानबाट श्वासप्रश्वासमा समस्या देखिएसँगै उपचारका लागि ४५ वर्षीय पुरुषलाई असोज १७ गते अस्पतालमा भर्ना गरिएको थियो।
बिरामीमा कुनै दीर्घ रोग नदेखिए पनि श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी, बिहीबार राती मोरङको रंगेलीका वृद्धको उपचारकै क्रममा मृत्यु भएको हो। अस्पतालका अनुसार रंगेली नगरपालिका–४ का संक्रमित वृद्धलाई बुधबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया