कोरोना संक्रमण बढिरहँदा तीन हप्तामा झण्डै चार लाख नागरिक काठमाडौं भित्रिए

२३ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण दर बढिरहेका बेला तीन हप्तामा झण्डै ४ लाख नागरिक काठमाडौं भित्रिएका छन् ।
दशै, तिहार, छठ जस्ता चाडपर्व नजिकिए पनि काठमाडौं भित्रिनेको संख्यामा कमी आउन सकेको छैन । विभिन्न नाकाबाट यात्रु निर्वाध रुपमा उपत्यका प्रवेश गरिरहेका छन् ।
उपत्यकामा २१ दिनमा ३ लाख ७२ हजार ७ सय ६० नागरिक भित्रिएका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तराईका जिल्ला र भारतीय नागरिकहरु बढी प्रवेश गरिरहेका छन्।
लकडाउन खुलेसँगै बिना पीसीआर परीक्षण उपत्यका प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको हो। सामाजिक दूरीमा गरिएको लापर्वाही र यात्रु आवागमनले काठमाडौंमा कोरोनाको जोखिम थप बढाएको छ ।
लकडाउनअघि घर गएका मानिस रोजगारीका लागि आउने गरेको पाइएको छ। तर थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेमबहादुर थापाले सार्वजनिक यातायातमा यात्रा गरेर उपत्यका प्रवेश गर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना गरेको बताउनु भएको छ ।
उपत्यका छोड्नेको संख्या पनि बढिरहेको छ । बितेको २४ घण्टामा विभिन्न नाका भएर ४ हजार ५ सय २२ वटा गाडीमा १८ हजार ३ सय ३० जना काठमाडौं भित्रिएका छन् भने ४ हजार ७ सय ९ वटा सवारी साधनमा २० हजार २ सय यात्रु काठमाडौंबाट बाहिरिएका ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
प्रतिक्रिया