Main News

अनशनरत डा. केसी पक्ष र सरकारबीच आज औपचारिक सम्वाद हुने

हिमालय टिभी
२०७७ असोज २२ गते ७:२५
अनशनरत डा. केसी पक्ष र सरकारबीच आज औपचारिक सम्वाद हुने

२२ असोज, २०७७ काठमाडौं । आमरण अनशनरत डा गोविन्द केसी पक्ष र सरकारबीच आज औपचारिक सम्वाद हुने भएको छ ।

सम्वादका लागि हिजो दुबै पक्षले वार्ता टोली गठन गरेका छन् । सरकारी र डा केसीको वार्ता टोलीबीच आज दिउँसो ४ बजे वार्ता गर्ने तय भएको छ ।

डा केसी अनशन बसेको २४ औं दिनमा सरकारले हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य हुनुहुन्छ ।

सरकारले वार्ता टोली घोषणा गरेको केही घण्टापछि डा केसीका तर्फबाट पनि वार्ता टोली बनेको छ । डा जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, पूर्वअध्यक्ष डा अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य हुनुहुन्छ ।

मंगलबार बिहानसम्म सरकार वार्ता टोली गठनको पक्षमा थिएन । शिक्षा सचिव मैनाली नेतृृत्वको टोलीले मंगलबार डा केसीलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनशन तोड्न एकोहोरो आग्रह गरेर फर्किएको थियो ।

तर मंगलबार अपरान्ह बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले डा केसीको जीवन रक्षा गर्नुपर्नेमा जोड दिएपछि सरकारले वार्ता ठोली गठन गरेर सम्वादका लागि तयार भएको हो ।

नेपाल चिकित्सक संघले आज २ घण्टा र भोलि दिनभर आकस्मिक र कोभिड उपचारबाहेक सबै सेवा बन्द गर्ने गरी दबावमूलक आन्दोलन घोषणा गरेपछि सरकार दबावमा परेको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेरै वार्ता टोली बनाएको बताइएको छ ।

केसीले ६ बुँदे माग राखेर भदौ २९ मा जुम्लाबाट १९ औं सत्याग्रह सुरु गर्नु भएको थियो । ८ औं दिनमा काठमाडौं आएका उहाँले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *