अनशनरत डाक्टर केसीसँग वार्ता गर्न टोली गठन, केसी पक्षबाट चार सदस्यीय वार्ता टोली

२१ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न मागसहित विगत २४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहनु भएको छ।
अनशनरत डाक्टर केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो । अल्टिमेटम सकिँदै गर्दा सरकारले टोली गठन गरेको हो ।
डाक्टर गोविन्द केसी अनशन बसेको २४ दिन बित्दासमेत सरकारले वार्ता टोली गठन नगरेको भन्दै नेपाल चिकित्सक संघको भोलि आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेको थियो । संघले भोलि स्वास्थ्य मापदण्ड पालना गरी देशभरका स्वास्थ्यसंस्था र अस्पतालहरुमा धर्ना र रिले अनशन गर्ने आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको थियो ।
सरकारले वार्ता टोली गठन गरेसँगै अनशनरत डाक्टर केसीको पक्षबाट पनि चार सदस्यीय वार्ता टोली गठन गरिएको छ। सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता टोली बनाए लगतै डा. केसीको तर्फबाट पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको हो । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
प्रतिक्रिया