राजनीति

कांग्रेसी किचलो, २५ गते होला त समाधान ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २० गते २०:२८
कांग्रेसी किचलो, २५ गते होला त समाधान ? (भिडियोसहित)

२० असोज, २०७७ काठमाडौं । सभापति शेरबहादुर देउवालाई विधान विपरीतका निर्णय सच्याउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध पत्र दिएको एक हप्ता नाघि सक्यो । पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि असोज १९ गतेसम्म माग पूरा गर्न अल्टिमेटम दिएको थियो ।

तर पार्टीकै केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण भएपछि बैठक मात्रै होइन पौडेल पक्षको अल्टिमेटम पनि २५ गतेसम्मका लागि धकेलिएको छ । यो बीचमा एक पटक छलफल पनि भयो । तर खासै प्रगति भने भएको छैन ।

चौधौं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति शेरबहादुर देउवाले गरेका निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टि छ । देउवाले नेतृत्व कब्जा गर्न सबै गतिविधि केन्द्रीत गरेको उसको आरोप छ । त्यसैले ती सबै निर्णय खारेज गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थप, जनसम्पर्क समिति गठनलगायतका निर्णय खारेज गर्न भन्दै पौडेल पक्षले असोज १२ गते विरोध पत्रै नै बुझायो । यसबारे देउवासँग छलफल पनि भयो । तर, चित्त बुझ्दो जवाफ पाएको छैन । तै पनि २५ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा माग सम्बोधन हुने उसको अपेक्षा छ ।

केन्द्रीय कार्यसमितिको बैठकबाट पनि माग सम्बोधन नभए देउवाविरुद्ध आन्दोलन गर्ने पौडेल पक्षको तयारी छ । तर पहिलेसँगै रहेका भनिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग भने पौडेल पक्ष आक्रोशित छ । सिटौलाको बोलि र व्यवहार फेरिएको पौडेलको आरोप छ ।

सिटौला पक्षले भने पौडेल पक्षको आरोपको प्रतिवाद गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकको मिति तोकिएको अवस्थामा कसैको पक्ष र विपक्षमा उभिन नमिल्ने सिटौला पक्षको तर्क छ । पौडेल पक्षले उठाएका माग जायज भएकाले केन्द्रीय समितिमै साथ दिने उसको आश्वासन छ । तर सिटौला पक्षका केन्द्रीय सदस्य प्रदीप पौडेलका कुरा सुन्दा पनि दुई पक्षबीच केही गडबड छ भन्ने प्रष्ट हुन्छ ।

पौडेल पक्षको माग र उसले चाल्ने कदम अनि पौडेल र सिटौला पक्षबीच हुन सक्ने संभावित सहकार्यका बारेमा संस्थापनपक्ष पनि जानकार छ । विधानले नै सभापतिलाई अधिकार दिएकाले धेरै विवाद गर्न नपर्ने उसको दावी छ । अर्थात संस्थापन पक्ष पनि आफ्नो अडानमा छ । तर आगामी केन्द्रीय कार्यसमिति बैठकमा सहमति हुने उसको विश्वास ।

१४ औं महाधिवेशनलाई लिएर कांग्रेसभित्र आरोपप्रत्यारोप सुरु हुन थालिसकेका छन् । त्यसैअनुसार विधानको पनि उनीहरुले आफू अनुकूल व्याख्या गरिरहेका छन । र, केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुका त्यसै अनुसारका आ–आप्ना तयारी छन । त्यसैले सहजै सहमति हुने संभावना भने देखिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्