डा. केसीको समर्थन गर्दै बालुवाटारमा प्रदर्शन, यसरी सडकमै सुतेर उपचार (भिडियोसहित)

२० असोज, २०७७ काठमाडौं । २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाव दिँदै हरेक दिन प्रदर्शन भैरहेको छ ।
डाक्टर केसीका माग जनमुखि भएपनि सरकारले बेवास्ता गरेको भन्दै राजनीतिक दल, चिकित्सक र आम नागरिकले सरकारमाथि दबाब बढाइरहेका छन् । उनीहरुले तत्काल वार्ता गर्न र गम्भीर अवस्थामा पुगेका डाक्टर केसीको जीवन रक्षा गर्न माग गरिरहेका छन । यही मागसहित आज पनि प्रदर्शन भएको छ ।
हातमा स्लाइन, घाँटीमा स्टेथेस्कोप झुण्ड्याएका सेतो कोट लगाएका यी व्यक्ति डाक्टर होइनन् ।
न त हातमा स्लाइन लगाएर, सडकमा सेभ डाक्टर केसी अर्थात डाक्टर केसीलाई बचाउ भन्दै सुतेका यी व्यक्ति नै बिरामी नै हुन् ।
साझा पार्टीले मंगलबार बालुवाटारमा यस्तो प्रदर्शन गर्नुको कारण एउटै हो । सरकारले डाक्टर केसी अनशन बसेको २३ दिन पुग्दा पनि बेवास्ता गर्नु । त्यसैले साझा पार्टीका युवा प्रदर्शनमा उत्रिए ।
सबै नागरिक स्वास्थ्य उपचारमा पहुँच हुनुपर्ने, गरिब नागरिकका क्षमतावान् व्यक्तिले पनि चिकित्सक बन्न पाउनुपर्ने, चिकित्सा क्षेत्रमा भएका बेथिती अन्त्य हुनुपर्ने डाक्टर केसीका माग छन् । तर सरकारले बेवास्ता गरेको भन्दै उनीहरु सडकमा उत्रेर सरकारलाई जगाउने प्रयास गरिरहेका छन ।
सरकारले डाक्टर केसीका माग पुरा गर्ने वा वार्ता गर्ने भन्दा पनि सरकार त्यसको पक्षमा छैन । उसले केसीलाई अनशन तोड्न भनिरहेको छ । सरकारले बेवास्ता गरेपनि नागरिक समाज, राजनैतिक दल र चिकित्सकले केसीको समर्थन गर्दै दबाब दिइरहेका छन् । तर सरकारको अहिलेसम्मको व्यवहार हेर्दा सजिलै केसीलाई सुन्ने देखिन्न ।
प्रतिक्रिया