Main News

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ, कांग्रेसका सांसदले गरे फ्लोर क्रस (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २० गते २०:२१
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ, कांग्रेसका सांसदले गरे फ्लोर क्रस (भिडियोसहित)

२० असोज, २०७७ बुटवल । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुबाङ क्षेत्र भएको छ । प्रदेशसभामा आज भएको मतदानमा नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।

प्रदेश ५ नाम र राजधानी तोक्ने पाँचौ प्रदेश भएको छ । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुबाङ क्षेत्र भएको छ । प्रदेश सभामा मंगलबार भएको मतदानमा नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित भयो । ८७ सदस्यीय प्रदेश सभामा राजधानी दाङ बनाउने पक्षमा ६९ मत परेको छ ।

सरकारको प्रस्तावका पक्षमा नेकपासहित नेपाली काँग्रेसका ५ तथा जनता समाजवादी पार्टीका चार सांसदले मतदान गरे । कांग्रेसका साविक लुम्बिनी अञ्चलका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा भोट दिए ।

जनता समाजवादीका दुई सांसदले मतदान बहिस्कार गरे । एक सदस्य रहेको जनमोर्चाले मतदानमा भाग लिएन । सरकारी प्रस्तावको विरोध गर्दै सोमवार संसदमा तोडफोड गरेको कांग्रेस एक रहन सकेन ।

पार्टी संसदीय दलले विपक्षमा भोट हाल्न ह्वीप लगाएपनि बाँके, बर्दिया र दाङका सांसद दाङ राजधानी बनाउने पक्षमा उभिए । याकुव अन्सारी, भुमेश्वर चौधरी, डिल्ली चौधरी, शंकर गिरी र अर्जुन श्रेष्ठले फ्लोर क्रस गर्नुभयो । पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित हुनुभएन । प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत पर्यो । प्रदेश ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भए ।

नाम लुम्बिनी राख्ने प्रस्तावमा समाजवादी पार्टीका सहषराम यादव, विजय यादव, सुमन शर्मा रायमाझी र पुरमती ढेगा मगर गरी चार जनाले विपक्षमा मतदान गर्नुभयो । तर अरु समाजवादीकै सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेले लुम्बिनीकै पक्षमा मतदान गर्नुभयो । प्रस्ताव पारित भएपछि मुख्यमन्त्री शंकर पोखरेलले ६ जिल्लाको लुम्बिनी १२ जिल्लाको प्रदेशमा विस्तार भएको प्रतिक्रिया दिनुभयो ।

सरकारको प्रस्ताव दुई तिहाईले पारित हुन ५८ मत आवश्यक थियो । ६१ सदस्य रहेको सत्तारुढ नेकपामा प्रस्तावबारे विवाद भए पनि सांसदले पार्टी निर्णय माने ।

सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ क्षेत्रलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव शुक्रवार पेश गरेको थियो । त्यसमा नेकपाकै १४ जना सांसदले आपत्ति जनाएका थिए भने नेपाली कांग्रेसले सन्सदमा तोडफोड गरेको थियो ।

प्रदेश ५ ले आफ्नो नाम र राजधानी तोकेपछि अब प्रदेश १ र २ ले मात्रै नाम र राजधानी तोक्न बाँकी छ । कर्णाली, गण्डकी, सुदुरपश्चिम र बागमती प्रदेशपछि अब अर्को प्रदेशको नाम लुम्बिनी भएको छ । र, यसले विस्तारै जातीय पहिचान सहित प्रदेशको नाम हुनु पर्ने च्याप्टर क्लोज भएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *