Main News

अनशनरत डाक्टर केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरू निस्के सडकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते २०:३८
अनशनरत डाक्टर केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरू निस्के सडकमा (भिडियोसहित)

१९ असोज, २०७७, काठमाडौं । २२ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउँदै शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरु सडकमा नै उत्रिएका छन् । डाक्टर केसीको माग पूरा गरी जीवन रक्षा गर्न भन्दै यसअघि अस्पताल हातामै धर्ना र प्रदर्शन गर्दै आएका चिकित्सकहरु आज भने सडकमा नै निस्किएका हुन् ।

हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा, डाक्टर केसीको जीवन रक्षा गर, डाक्टर केसीको माग पूरा गर लेखेका प्लेकार्ड बोकेर शिक्षण अस्पताल आगडि उभिने यिनीहरु डाक्टर हुन् ।

मेडिकल शिक्षामा सुधार र नागरिकको सर्वसुलभ उपचार हुनुपर्ने माग राखेर डाक्टर केसी अनशनमा बसेको २२ दिन भयो । उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको छ । तर पनि यो २२ दिनमा सरकारले गोविन्द केसीको मागप्रति कुनै चासो दिएको छैन । त्यसैले उनीहरुले सरकार सुतेको र डाक्टर केसी जागेको २२ दिन भन्ने अर्को प्लेकार्ड पनि बोकेका छन् ।

कोरोना संक्रमणसँग सम्बन्धित र आकस्मिक सेवाबाहेकका अरु सेवा केही घन्टाका लागि बन्द गरेर उनीहरु सडकमा निस्किएका हुन् ।
डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदैछ । चिकित्सकहरुका अनुसार डाक्टर केसीलाई आइसियूमा राख्नुपर्ने भैसकेको छ ।

मुटुको चाल छिटो हुने, शरीरमा पानीको मात्रा कम हुने लगायतका समस्या देखिन थालेको छ । तर पनि उहाँको जीवन रक्षाका लागि सरकारलाई कुनै चासो छैन । त्यसैले केसीको अनशनप्रति सरकारको ध्यानकर्षण गराउन डाक्टरहरु नै अघि सरेका हुन् ।

सरकारसँग उनीहरुको आक्रोश पनि छ । सामान्य नागरिकका क्षमतावान् सन्तानले मेडिकल शिक्षा पढ्न नपाउने मात्र हैन, सामान्य नागरिकले बिरामी पर्दा पनि उपचार पाउनै नसक्ने स्थिति बनेको छ ।

क्यान्सर, मुटु तथा मिर्गौला रोगको उपचारका लागि घरखेत बेच्नु पर्ने स्थिति छ । सरकारकै गलत नीतिका यस्तो स्थिति आएको भन्दै डाक्टर केसी १० वर्षदेखि मेडिकल शिक्षा सुधारको अभियानमा हुनुहुन्छ । उहाँको माग एउटा व्यक्तिको नभई, सबैको आवाज भएकाले उहाँका माग पूरा गर्नु पर्ने उनीहरुको माग छ ।

डाक्टर केसीसँग वार्ता गर्न र उहाँका माग पूरा गरेर जीवन रक्षा गर्न सरकारमाथि दबाब बढ्दो छ । विभिन्न राजनीतिक दल, मानवअधिकार आयोग, डाक्टर तथा नागरिक समाजले केसीसँग वार्ता गर्न सरकारलाई भनिरहेका छन् र तर सरकारले यी आवाज सुनेको नसुन्यै गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *