Main News

कांग्रेसको अवरोधपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित

हिमालय टिभी
२०७७ असोज १९ गते १३:३८
कांग्रेसको अवरोधपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित

१९ असोज, २०७७ बुटवल । राजधानी दाङ बनाउने सरकारी प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को सदन अवरुद्ध गरेको छ ।

सरकारले संविधानविपरीत संसदीय प्रक्रियासमेत मिचेर प्रस्ताव ल्याएको भन्दै कांग्रेसले प्रदेश ५ को सभा अवरुद्ध गरेको हो । प्रस्ताव फिर्ता लिन कांग्रेसको माग छ । कांग्रेसले अवरोध गरेपछि दुई बजेसम्मका लागि स्थगित भएको बैठक अझै शुरु हुन सकेको छैन ।

बैठकमा समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले सिंगो सदनले स्वामित्व लिनुपर्ने विषयमा सरकारले छलफल समेत नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आडमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानी दाङ सार्ने प्रस्ताव ल्याएको आरोप लगाउनुभयो ।

कांग्रेस नेता कनौडियाले बुटवलमा राजधानी किन हुँदैन भन्दै दाङ सार्ने प्रस्तावको औचित्य पुष्टि गर्न चुनौती दिनुभयो ।

प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमा आज छलफल हुने कार्यसूचि थियो ।

दाङ राजधानी सार्ने प्रस्तावको बुटवलमा विरोध भैरहेको छ । र २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रदेश सभामा भवन वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *