Main News

भारतबाट दशैं मान्न फर्किने बढ्न थाले, बढ्यो जोखिम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १८ गते २०:३९
भारतबाट दशैं मान्न फर्किने बढ्न थाले, बढ्यो जोखिम (भिडियोसहित)

१८ असोज, २०७७, भैरहवा । लकडाउनका बेला भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै फर्किने नेपालीको संख्या दैनिक ४–५ सय थियो । साउन र भदौमा त्यो संख्या घटेर एक सयको हाराहारीमा पुग्यो ।

तर असोज लागेयता भने नेपाल भित्रिनेको संख्या बढ्न थालेको छ । रोजगारीका लागि भारत पुगेका नेपालीहरु नजिकिँदै गरेका दसैं, तिहार लगायत चाडबाड मान्न घर फर्किन थालेका छन् ।

नेपाल र भारत दुबै देशमा अहिले कोरोना संक्रमण तीव्र छ । कोरोनाका संक्रमित दिन दुईगुणा रात चौगुणा बढे पनि नेपाल भारत दुई देशबिच ओहोर दोहोर कायम छ । दशैं नजिकिँदै जाँदा भारतबाट फर्कने बढ्न थालेका छन् ।

तर भारतबाट आउने नेपालीहरुले भारतीय भूमि र नाकामा सास्ती खेप्ने गरेका छन् । यातायात, क्वारेन्टाइन व्यवस्थापन लगायतका नीति जिल्लापिच्छै फरकफरक भएकाले नेपाल आइसकेपछि पनि उनीहरुले अप्ठ्यारो महसुस गरिरहेका छन् ।

प्रशासनको तथ्यांकअनुसार बेलहिया नाका हुँदै दैनिक २ सय बढी स्वदेश फर्किरहेका छन् । असोज लागेपछि पर्व मान्न आउनेहरुको संख्या बढ्दो छ । असोज १ देखि १६ गते दिउँसोसम्म बेलहिया नाकाबाट ३ हजार ६ सय जना स्वदेश फर्किएका छन् ।

तर सीमा क्षेत्रमा भौतिक दूरी, यातायातको राम्रो व्यवस्था नहुँदा र भीडभाड हुँदा कोरोना झन फैलन त्रास बढेको छ । प्रशासनले भने नेपाल भित्रिनेको तथ्यांक राखिएको, सामान्य स्वास्थ्य परिक्षण गर्ने गरिएको दावी गरेको छ ।

यस्तै सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाएर स्वयं व्यक्तिले नै यातायातको व्यवस्था गरी उनीहरुलाई गन्तव्यमा जान दिने व्यवस्था मिलाइएको छ ।

नाकाबाट नेपालीले सहजै प्रवेश पाए पनि भारतीय र अरु देशका नागरिकका भने निक्कै कडाइ छ । उनीहरुले नेपाल आउन चाहेमा कामको प्रकृति, प्रशासनको स्वीकृति र पीसीआर रिपोर्ट नेगेटिभ भएको कागजात पेस गर्नुपर्छ ।

भारतीय सुरक्षाकर्मीले पनि भारतमा सरकारी जागिर भएका, गम्भीर बिरामी, आधार कार्ड भएकालाई मात्रै जान दिने गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा पोहोर परारको जस्तो सीमा क्षेत्रको भारतीय बजार सुनौलीमा किनमेलका लागि जाने नेपाली भने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *