Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज १८ गते १२:४७
देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

१८ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जनाको मृत्यु भएको छ । नेपालगञ्ज, चितवन, विराटनगर र सुर्खेतमा एकएक जनाको मृत्यु भएको हो।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारका क्रममा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । महेन्द्रनगर नगरपालिका–२, कञ्चनपुरकी २९ वर्षीया महिलाको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

गर्भवती हुँदा नै रक्तश्राव भइरहेकी उनले धनगढीको सेती अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।

यस्तै भरतपुर अस्पतालमा उपचाररत चितवनको कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज मृत्यु भएको छ।

यसैगरी, विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड नाइन्टिन उपचार केन्द्रमा आज बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरका ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।

विराट मेडिकल कलेजमा उपचाररत उनलाई यही असोज १६ गते कोरोना पोजेटिभ देखिएपछि १७ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

यस्तै, भेरीगंगा नगरपालिका–६ सुर्खेतकी ७२ वर्षीया महिलाको कर्णाली प्रदेश अस्पतालमा गएराति मृत्यु भएको छ । उनी एक दिनअघि मात्र अर्धअचेत अवस्थामा अस्पताल ल्याइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *