प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन बढेपछि बुटवलका केही स्थानमा निषेधाज्ञा

१८ असोज, २०७७ बुटवल । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति जारी गरेको सूचनामा आज बिहान ६ बजेदेखि २१ गते बेलुकी ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ ।
सूचनामा प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको उल्लेख छ ।
साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन । प्रशासनले ५ जनाभन्दा बढी जम्मा हुन रोक लगाएको छ ।
यसैबीच प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध कांग्रेस रुपन्देहीले हिजो बेलुकी राँके जुलुस निकालेको छ ।
प्रतिक्रिया