Main News

डा. केसी अनशनमा, जीवन रक्षाको माग गर्दै समर्थक सडकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १७ गते २०:४२
डा. केसी अनशनमा, जीवन रक्षाको माग गर्दै समर्थक सडकमा (भिडियोसहित)

१७ असोज, २०७७ काठमाडौं । डाक्टर गोविन्द केसी आमरण अनशनमा बसेको आज २० दिन भयो । केसीको ज्यान खतरामा रहेको चिकित्सकहरुले बताएका छन् । तर सरकारले अहिलेसम्म कुनै चासो देखाएको छैन । सरकारले सुन्दै नसुनेपछि दिनहुँ केसीको समर्थनमा प्रदर्शन भैरहेको छ । र, सरकारलाई सुनाउने प्रयास भैरहेको छ ।

चिकित्सा शिक्षा सुधार र सर्वसुलभ उपचार लगायतका माग राख्दै डाक्टर गोविन्द केसी १९ औं पटकको अनशनमा हुनुहुन्छ । सरकारले पहिले गरेका सहमति पनि कार्यान्वयन नगरेपछि केसी फेरि अनशनमा बस्न बाध्य हुनुभयो । तर केसीको ज्यान जोखिममै परे पनि सरकारले कुनै मतलव गरेको छैन । त्यसैले सरकारलाई दबाब दिनहुँ जसो काठमाण्डौमा प्रदर्शन भैरहेको छ ।

अर्थात प्रदर्शनकारीले केसीको आवाज सरकारलाई सुनाउने कोशिस गरिरहेका छन् किनकी यो माग अब केसीको मात्रै होइन ।

किनकी सरकारले बेवास्ता गर्दा केसीको ज्यान जाला भन्ने उनीहरुलाई पीर छ । त्यसैले सरकारलाई दबाब दिनुपर्छ भन्ने उनीहरुलाई लागेको छ ।

सरकारले केसीका माग उपेक्षा गरेपनि प्रदर्शनकारी केसीले उठाएका मागमा सहमत छन् किनकी केसीले भने जस्तै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा माफियाको प्रभाव छ र पहिले होस कि अहिले । सबै सरकार तिनकै वरिपरि घुमिरहेका छन् ।

प्रदर्शनकारीले सरकारको दाबीमा समेत गम्भीर प्रश्न उठाएका छन् । दुई तिहाईको नेकपा सरकारले आफूलाई समाजवादी भनिरहेको छ । तर प्रदर्शनकारीलाई त्यसमा विश्वास छैन किनकी उनीहरुको बुझाईमा सरकारले समाजवादका नाममा व्यापार गरिरहेको छ ।

डाक्टर केसीका माग नेपाली जनताका हितमा छन् । उहाँले अहिलेसम्म निशुल्क स्वास्थ्य र शिक्षाको कुरा गर्नुभएको छैन । तर केसीलाई समर्थन गर्नेहरु त्यो भन्दा पनि अघि छन् । यसले सरकारमाथि नयाँ ढंगले जनस्तरबाट दबाब पर्ने देखिन्छ । किनकी सडकमा केसीको समर्थनसँग स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्ने माग भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *