आलमसँग मिलेर इँटाभट्टामा ज्यूँदै मान्छे जलाएको आरोपमा एक जना पक्राउ
१७ असोज, २०७७ रौतहट । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमसँग मिलेर रौतहटमा ज्यूँदै मान्छे जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
रौतहट बौधीमाई नगरपालिका–७ स्थित नेपाल–भारत सीमाको बड्की बंकुल क्षेत्रबाट बारा सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनीलाई हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धान र सोधपुछमा सहनीले घाइते तथा मृतकलाई इँटाभट्टामा हालेको स्वीकार गरेका छन् । मोहम्मद अफताव आलम र आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो।
पहिलो संविधानसभा चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहटको साविक फरदहवा गाउँ विकास समिति वडा नम्बर–४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो।
विस्फोटमा तीन जनाको मृत्यु र १६ जना घाइते भएका थिए। ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो। यो घटनामा अफताव आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्।
प्रतिक्रिया