Main News

दशैं मान्न गाउँ जाँदै हुनुहुन्छ ? कतै कोरोना लिएर त जाँदै हुनुहुन्न ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १६ गते २०:२७
दशैं मान्न गाउँ जाँदै हुनुहुन्छ ? कतै कोरोना लिएर त जाँदै हुनुहुन्न ? (भिडियोसहित)

१६ असोज, २०७७, काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय न्दा बढीमा कोरोना संक्रमण पुष्टि भयो । यस्तै विराटनगर, बुटवल, भरतपुर, सुर्खेत, हेटौंडाजस्ता शहरमा ठुलो संख्यामा संक्रमित थपिएका छन् ।

यो तथ्यांकले शहरी क्षेत्रमा संक्रमण निकै बढिरहेको देखाएको छ । अहिले कोरोना संक्रमण बढी रहेका शहर तीनै हुन् जहाँबाट अबको केही दिनमा मानिस दशैं मान्नका लागि गाउँ जान थाल्नेछन् । यसले दशैं मान्न घर जानेहरुसँगै अहिले शहरमा रहेको कोरोना गाउँगाउँमा पुग्ने जोखिम देखिएको छ ।

अहिले काठमाडौंमा रहेका महोत्तरीका ध्रुब घिमिरेले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायतका उपाय अपनाउँदै आउनु भएको छ । दशैँ मान्नका लागि घर जाने तयारीमा रहेका उहाँलाई आफूसँगै कोरोना घर पुग्ने हो कि भन्ने चिन्ता छ । किनकी उहाँले कोरोनबाट जोगिन अहिले जे गरिरहनु भएको छ । त्यो उपाय गाउँमा संभव हुँदैन कि भन्ने डर उहाँलाई छ ।

यो चिन्ता ध्रुबको मात्र हैन । शहरबाट गाउँ जाने सबैमा यस्तै चिन्ता छ । आजै घर हिँडेकी रामेछापकी रिता थापामगर गाउँ पुगेपछि सकेसम्म सावधानी अपनाउने सोचमा हुनुहुन्छ ।

कोरोनाबाट बच्न भिडभाडमा नजाने, दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने चिकित्सकको सुझाव छ । गाउँमा अहिले त्यति धेरै भीडभाड त छैन । तर शहरबाट गाउँ जाने बढेसँगै चहल पहल बढ्ने छ । दशैंको भेटघाट र जमघट हुनेछन् । त्यसैले अब गाउँगाउँमा कोरोना संक्रमित बढ्ने विशेषज्ञहरुको अनुमान छ ।

पछिल्लो समय लक्षणसहितका संक्रमित देखिन थाले पनि लक्षण नभएका संक्रमित पनि धेरै छन् । कोरोना संक्रमण भए पनि लक्षण नदेखिँदा को संक्रमित हो को हैन भनेर चिन्न सकिन्न । त्यस्ता मानिसले ग्रामीण क्षेत्रमा सहजै संक्रमण फैलाउन सक्ने खतरा छ । त्यसैले शहरबाट गाउँ जाँदा, गाडी चढ्दा, एक अर्कोसँग बोल्दा सावधानी अपनाउन जनस्वास्थ्य विद्को आग्रह छ ।

सरकारले कुनै एक स्थानबाट अर्को स्थानमा जाँदा क्वारन्टिनमा बस्न अनिवार्य गरेको छ । तर यो नियम कार्यान्वयन भएको छैन । चाडपर्वका मनाउन छोटो विदा लिएर घर जानेहरुले क्वारन्टिनमा बस्न पनि संभव छैन । तर पनि सरकारले भने यसको व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

कुनै एक जनाको लापरबाही कोरोना संक्रमण फैलाउन जिम्मेवार हुन सक्छ । त्यसैले कोरोना संक्रमणबाट जोगिन हामी सबै सचेत हुन जरुरी छ । यस्तोमा तपाई शहरी क्षेत्रबाट घर जाँदै हुनुहुन्छ भने तपाइँले त अझै धेरै सचेत हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *