Main News

सरकारको कार्यशैलीमा सरकारी चिकित्सक असन्तुष्ट : आन्दोलन गर्ने तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १६ गते २०:२१
सरकारको कार्यशैलीमा सरकारी चिकित्सक असन्तुष्ट : आन्दोलन गर्ने तयारी (भिडियोसहित)

१६ असोज, २०७७,काठमाडौं । देशमा कोरोना संक्रमण बढिरहेका बेला सरकारी चिकित्सक नै आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु गम्भीर विषय हो । तर यसका लागि उनीहरुले मुख्यतः सरकारको कार्यशैलीलाई जिम्मेवार मानेका छन् ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएपछि नै यसको रोकथाम तथा उपचारमा अग्रपंत्तिमा खटिएका छन् सरकारी स्वास्थ्यकर्मी । निजी क्षेत्रका अस्पतालले कोरोना संक्रमितको उपचार गर्न अझै पनि मानिरहेका छन् । तर पनि सरकारी चिकित्सक भने कोरोना संक्रमितकै उपचारका लागि खुलेका कोभिड अस्पतालमा पनि खटिएका छन् । ज्यानकै जोखिम मोलेर उनीहरुले काम गरेका छन् । तर उनीहरुको स्वास्थ्य सुरक्षामा सरकारका तर्फबाट खासै ध्यान गएन । जसका कारण कोरोनाको यो असहज परिस्थितिकै बीच उनीहरु आन्दोलनको मनस्थितिमा पुगेका छन् ।

बिहीबार कोराना संक्रमितको उपचारमा खटिएका प्राध्यापक डाक्टर हरि सापकोटाको कोरोना संक्रमणकै कारण मृत्यु भयो । यसले पनि कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा त्रास बढेको छ । सरकारी अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मीले त राजीनामा पनि दिन थालेका छन् । र स्थिति आउनुमा सरकारकै अकर्मण्यता मुख्य कारण रहेको सरकारी चिकित्सकको आरोप छ ।

जनता कोरोनाको त्रासमा रहेको र जनतालाई बचाउने स्वास्थ्यकर्मी पनि ज्यानको बाजी थापेर आवश्यक सुरक्षा सामग्रीको अभावमा काम गरिरहेका छन् । स्वास्थ्यकर्मीका लागि दिने भनिएको प्रोत्साहन भत्ता पनि घोषणा भएको ७ महिना बित्दासमेत दिइएको छैन । सरकार मन्त्रालय फुटाउन, मन्त्री बढाउन र आफ्ना आसेपासेलाई नियुक्त दिन व्यस्त छ । तर हरेक दिन उकालो लाग्दै गरेको कोरोनाको ग्राफप्रति सरकार संवेदनशील भएन । जसले ठूलो दुर्घट्ना निम्तिन सक्ने भन्दै उनीहरु सरकारलाई झकझक्याउन सडकमै आउन लागेका हुन् ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी १९ दिनदेखि अनशनरत छन् । तर उनका मागलाई पनि सरकारले गम्भीरताका साथ लिएको छैन ।

दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग उपचार अभावमा छट्पटाइरहेका छन् । तर सरकार यी सबैलाई नजरअन्दाज गरेर संक्रमितको संख्या २५ हजार पुगे पुनः लकडाउन गर्ने योजनामा छ । यस्तोमा सरकारी चिकित्सक संघले संक्रमितको संख्या बढ्दै जाँदा हुने दुर्घट्ना र समग्र स्वास्थ्यकर्मीका ज्यानको सुरक्षाका लागि आवाज उठएको छ । जसलाई सरकारले गम्भीरताका साथ लिनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *