Main News

प्रदेश ५ को राजधानी भालुवाङ र नाम लुम्बिनी बनाउने प्रस्ताव प्रदेशसभामा पेस

हिमालय टिभी
२०७७ असोज १६ गते १७:०१
प्रदेश ५ को राजधानी भालुवाङ र नाम लुम्बिनी बनाउने प्रस्ताव प्रदेशसभामा पेस

१६ असोज, २०७७ बुटवल । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच काठमाडौंमा भालुवाङलाई राजधानी बनाउने सहमति भएसँगै प्रदेश ५ सरकारले प्रस्ताव पेश गरेको हो ।

प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नुभयो ।

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने सरकारको प्रस्ताव छ । ।

मन्त्री केसीले लामो व्याख्या गर्दै प्रदेशको नाम र राजधानी सबै सहमति टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सहमति छलफल नै नगरी कार्यसूचि समेत हेरफेर गरेर प्रस्ताव ल्याएको भन्दै विरोध गरेको छ । प्रस्तावमाथि असोज १९ गतेदेखि छलफल शुरु हुनेछ ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नाम र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभामा मतभेद थियो ।

प्रदेश ५ का नेकपा इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङ र नेकपाका महासचिव विष्णु पौडेल बुटवललाई राजधानी बनाउनु पर्ने पक्षमा हुनुहुन्थ्यो । तर पार्टी भित्र विवाद भएपछि मुख्यमन्त्री पोखरेलले पार्टीको शीर्ष नेतृत्वलाई यसबार निर्णय गर्न आग्रह गर्नुभएको थियो ।

अब प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गरेपछि राजधानी र नामको टुंगो लाग्नेछ । यसबारे निर्णय गर्ने अधिकार प्रदेश सभालाई छ । ८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन । यसअघि प्रदेश १, २ र ५ बाहेक अरु चार वटा प्रदेशको नाम र राजधानी तोकिसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *