Main News

प्रदेश ५ को राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

हिमालय टिभी
२०७७ असोज १६ गते १४:५६
प्रदेश ५ को राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

१६ असोज, २०७७ बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

यसलाई आधार मानेर प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भालुबाङ राजधानी बनाउने सहमति जुटेको हो ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभामा मतभेद थियो ।

प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा हुनुहुन्थ्यो भने नेकपाका महासचिव विष्णु पौडेलले बुटवलका लागि लबिङ गर्नुभएको थियो । तर विवाद बढेपछि शीर्ष नेतृत्वलाई सहमति गर्ने जिम्मा दिइएको थियो ।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गर्नु भएको थियो । बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *