गौतमको राष्ट्रियसभा सदस्यमा मनोनयनविरुद्धको रिटमा सर्वोच्चले आज फैसला गर्दै

१६ असोज, २०७७ काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले आज फैसला गर्दैछ।
बुधबार बहस लम्विएकाले आज पुनः सुनुवाइ हुने गरी मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो । प्रतिनिधिसभा सदस्य चुनाव हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा सुनुवाई भएको हो ।
बुधबार रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए ।
विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेल सहित दुई जनाले बुधबार नै बहस गरेका छन् । संवैधानिक इजलासले दुवै पक्षको तर्क सुनी गौतमको मनोनयनबारे आदेश जारी गर्नेछ ।
आज बामदेव गौतमका तर्फबाट बहस गर्न बाँकी अधिवक्ताहरुले बहस गरेपछि फैसला आउनेछ । सर्वोच्च अदालतले बामदेवविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन गरेको थियो ।
प्रधानन्याधीश नेतृत्वको इजलाशमा न्यायधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।
असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले प्रारम्भिक सुनुवाइपछि गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन र मनोनयन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
प्रतिक्रिया