बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन (भिडियोसहित)

१५ भदौ, २०७७ काठमाडौं । ०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आज बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन गरिएको छ ।
पहिले गुम्बज शैलीमा बनाइएको मन्दिर विज्ञको सिफारिस अनुसार प्रताप मल्लको पालाको ग्रन्थकुट शैलीमा पूननिर्माण गरिएको छ । मन्दिरको शिरमा रहेको गजुरको उचाई ६ फुट १० इन्च छ ।
ताम्रपत्रमा सुनको लेपन लगाएर गजुर बनाइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद अर्यालका अनुसार मन्दिरका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको छ ।
मुख्य गजुरमा मात्रै २५ दशमलव ७३ तोला सुन प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी शिलान्यास गरेपछि पुननिर्माण सुरु भएको थियो । तर बिचमा आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि फेरि पुरानै शैलिबाट निर्माण गरिएको हो ।
त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका सहसचिव अर्यालले भाइटीकाको दिन मन्दिर खोल्ने गरी काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया