Main News

जिल्ला प्रशासन कार्यालय धनुषाबाटै कोरोना फैलिने जोखिम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १४ गते २०:४४
जिल्ला प्रशासन कार्यालय धनुषाबाटै कोरोना फैलिने जोखिम (भिडियोसहित)

१४ असोज, २०७७, काठमाडौं । काठमाडौंमा मात्र हैन, बाहिरका जिल्लामा पनि सरकारी कार्यालयको अवस्था उस्तै छ । कोरोना संक्रमणको जोखिम घटाउने नियमनकारी निकाय हो जिल्ला प्रशासन कार्यालय । तर धनुषा प्रशासन भने आफै अस्तव्यस्त छ । त्यहाँ सेवाग्राहीको भीडले जोखिम झन बढाएको छ ।

धनुषामा अहिलेसम्म दुई हजार जनाभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका शहरी क्षेत्रमा मात्र हैन गाउँगाउँमा समेत संक्रमित भेटिएका छन् । सबै तथ्यांकले धनुषा कोरोना संक्रमणको उच्च जोखिममा देखाउँछ । तर धनुषामा कोरोना संक्रमणबाट बच्न कुनै पनि सावधानी नअपनाएको जिल्ला प्रशासन कार्यालयमा लागेको सेवाग्राहीको भीडले प्रमाणित गर्छ ।

नेपालीमा एउटा उखान छ जो अगुवा उही बाटो बिगारुवा । यो उखान ठ्याक्कै जिल्ला प्रशासन कार्यालय धनुषामा लागु भएको छ । जोखिमबाट बचाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्रशासनमै संक्रमणबाट जोगिन न त सामाजिक दूरी पालना गरिएको छ न त लाइनमा बस्नेले मास्क नै लगाएका छन् । जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि काम गर्ने र अरु निकायले गरेको कामको नियमन गर्ने जिल्ला प्रशासन कार्यालयमा नै यस्तो लापरबाही छ भने अन्त कस्तो होला ?

एसईईको नतिजा आएपछि सिटिईभिटीईमा फारम भर्न, मधेशी प्रमाणित गर्न र हालै थालिएको राष्ट्रिय परिचय पत्र बनाउनेका कारण समेत जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । तर सेवाग्राहीको काम छिटो छरितो गर्न प्रशासन कार्यालयले कुनै पहल गरेको छैन ।

कोरोना संक्रमण रोक्न भनेर अरुलाई जे आदेश दिएको छ त्यो आदेश पहिला आफूले पालना गर्नुपर्ने सेवाग्राहीको पनि सुझाव छ।

कोरोना रोकथामका लागि कुनै एउटा व्यक्ति वा एउटा संस्था जिम्मेवार भएर मात्र संभव छैन । यसका लागि सबैको हातेमालो आवश्यक छ । तर जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने जिल्ला प्रशासनमै यस्तो अवस्था भएपछि संक्रमण कसरी नियन्त्रण होला ? प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *