Main News

यस्ता बन्दैछन, ऐतिहासिक दरबार (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १४ गते २०:३७
यस्ता बन्दैछन, ऐतिहासिक दरबार (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण भत्किएका ऐतिहासिक सम्पदा पुनःनिर्माणका क्रममा छन् । कछुवा गतिमा अघि बढिरहेको पुनर्निर्माण सम्पन्न हुन अझै कति समय लाग्छ भन्न सक्ने अवस्था छैन । तर, काठमाडौंका केही ऐतिहासिक दरबारको पुनः निर्माणले भने गति लिएको छ ।

काठमाडौंका ऐतिहासिक सिंहदरबार, केशर महल, बालमन्दिर, बबरमहल लगायत दरबारको पुनःर्निर्माणको कामले तीब्रता पाएको छ । ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा पहिले कै स्वरुपमा निर्माण गर्ने काम भइरहेको छ ।

जस्ताको तस्तै तर बलियो प्रशस्तै भन्ने सिद्धान्त आत्मसाथ गरेर कामलाई द्रुत गतिमा अघि बढाएको राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणको दावी छ । चारवटै दरबारको निर्माण सुर्की, फलाम, चुना, काठ लगायतको परम्परागत सामग्रीबाट हुँदैछ ।

प्रशासनिक भवन सिंह दरबारको पूर्वी भागको भवनको सबै काम मंसिरसम्म सम्पन्न हुनेछ । झण्डै ५६ करोड लागतमा पुनःर्निर्माण भैरहेको भवनमा अग्नी नियन्त्रण प्रणाली, इन्टेरियर, ल्यान्डस्केपिङ् र सुरक्षा लगायतको काम भइरहेको छ ।

यस्तै ५० करोड लागतमा पश्चिमपट्टीको भागको काम पनि ३५ प्रतिशत सकिएको छ । र यसको सबै काम अर्को भदौसम्म सक्ने योजना छ । यस्तै केशर महल दरबारको २० प्रतिशत पुनर्निर्माण भएको छ । झण्डै ६० करोड लागतमा बनिरहेको केशर महल अर्को मंसिरसम्म सकिनेछ ।

यस्तै बबरमहलको काम पनि २० प्रतिशत सकिएको छ । ८६ करोड लागतमा बनिरहेको बबर महलको निर्माण आउँदो असार र ५५ करोड लागतमा पुनःर्निर्माण भैरहेको बालमन्दिरको काम पनि अर्को मंसिरमा सकिनेछ ।

चारवटै दरबारको पुनःर्निर्माण हुँदा पुरातात्विक कलाकृति नबिग्रिने गरेर काम गरिँदैछ । परम्परागत शैली, निर्माण सामग्री, पद्धती र परम्परागत कलाकृति नमास्ने ढंगले काम भैरहेको आयोजनाको दावी छ । परम्परागत ढाँचाबाट काम गरिएपनि राष्ट्रिय भवन निर्मार्ण संहिताको परिधिभित्र रहेर पुनःर्निर्माण भइरहेको छ । सिंहदरबारको पूर्वी मोहडाको पुनःर्निर्माणमा भने छड र सिमेन्ट प्रयोग गरिएको छ ।

प्राधिकरणले यी चारैवटा दरबारको पुनःर्निर्माण २०७८ भित्र सकिने भनेपनि कोरोना महामारीका कारण सिर्जित परिस्थिती बाधक बन्न सक्नेछ । अहिले पनि निर्माण सामग्री आपूर्तिमा असर परेको छ । सामग्रीमात्र होइन, अहिले दक्ष कालिगढको पनि अभाव छ ।तर निर्माण सामग्री र जनशक्ति जोहो गरेर तोकिएको समयमा काम सक्ने लक्ष्य प्राधिकरणको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *