Main News

ग्राउन्ड ह्यान्डलिङ खोसेकोमा नेपाल एयरलाइन्सको आपत्ति (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १३ गते १९:१०
ग्राउन्ड ह्यान्डलिङ खोसेकोमा नेपाल एयरलाइन्सको आपत्ति (भिडियोसहित)

१३ असोज, २०७७ काठमाडौं । आफूले पाइरहेको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खोसेर हिमालय एयरलाइन्सलाई दिन लागिएको भन्दै नेपाल वायुसेवा निगमले आपत्ति जनाएको छ ।

निगमले आज विज्ञप्ति निकालेर आफूले पाइरहेको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खोसेर निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई दिने नागरिक उड्डयन प्राधिकरणको निर्णयको विरोध गरेको हो ।

निगमले आफूसँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवाको जिम्मामा प्राधिकरणले पूर्णविराम लगाउने कामको सुरुआत गरेको समेत आरोप लगाएको छ । हाल नेपाल एयरलाइन्ससँगै थाई एयर र एयर इन्डियालाई ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएका छन् ।

अन्य जहाज कम्पनीको ग्राउन्ड ह्यान्डलिङको जिम्मा समेत निगमले गर्दै आएको छ । तर केही दिनअघि प्राधिकरणले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको सुविधा दिने निर्णय गरेको थियो । तर यसबाट निगमले आर्जन गर्ने र प्राधिकरणले पाउने १५ प्रतिशतको राजस्व गुम्ने भन्दै निगमले विरोध गरेको हो ।

निगमले अन्य मुलुकमा राष्ट्रिय ध्वजाबाहकलाई सरकारले ठूलो संरक्षण गर्ने गरेको भएपनि नेपालमा भने नियामक निकायबाटै आम्दानी खोस्ने काम भएको गुनासो गरेको छ ।

यस्तै अर्को संस्थालाई ग्राउन्ड ह्यान्डिलिङको सेवा दिँदा उपकरण तथा सामानको व्यवस्थापन गर्न मुस्किल पर्ने र विमानस्थलमा सुरक्षाको प्रश्न उठ्ने निगमको दाबी छ ।

प्राधिकरणले हिमालय एयरलाईन्सलाई ग्राउन्ड ह्यान्डिलिङको सुविधा दिने निर्णय गरेपछि त्यसको आलोचना हुँदै आएको छ । आलोचना बढेपछि प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न पर्यटनमन्त्री योगेश भट्टराईले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *