राष्ट्रपतिबाट तेजाब आक्रमण नियन्त्रण र नियमनसम्बन्धी दुई अध्यादेश जारी
१२ असोज, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि सरकारले ल्याएका दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रसायन पदार्थ नियमनसम्बन्धी अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी गर्नुभएको हो ।
असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । अध्यादेशमा तेजाब आक्रमणबाट कसैको शरीरमा पूर्ण क्षति भए २० वर्षसम्मको कैदको व्यवस्था छ ।
यसअघि मुलुकी संहितामा तेजाब आक्रमणका घट्नामा क्षतिपूर्तिको अवस्था हेरेर अधिकतम ८ वर्षसम्म मात्र कैदको प्रावधान थियो ।
यसबाहेक सरकारले तेजाबको खुला विक्रि वितरणमा पनि कडाइ गर्दै अनुमतिपत्र अनिवार्य बनाएको छ । अनुमतिपत्र नलिइ तेजाब लगायत घातक रसायनिक पदार्थ विक्रि वितरण गरेमा एक वर्षसम्म कैद हुनेछ ।
संसद अधिवेशन चालू नरहेको अवस्थामा सरकारले अध्यादेशबाट तेजाब आक्रमणका घट्ना नियमनका लागि कानून ल्याएको हो । राष्ट्रपतिबाट जारी भएको यो अध्यादेश राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ ।
प्रतिक्रिया