पर्यटकको पर्खाइमा पोखरा, तत्काल आन्तरिक पर्यटकको भर (भिडियोसहित)

११ असोज, २०७७, पोखरा । कोभिड–नाइन्टिनले थला परेको पर्यटन क्षेत्र फेरि एक पटक उठ्नको लागि जुर्मुराउँदैछ । पर्यटकको आगमन शून्य भए पनि आगामी दिनमा पर्यटक आउने विश्वाससहित यो वर्षको विश्व पर्यटन दिवस मनाइएको छ ।
पर्यटकलाई फूलमाला र नेपाली संस्कृतिले स्वागत गरेर मनाइने पर्यटन दिवस यस वर्ष भने पर्यटन क्षेत्रको भविश्यको बारेमा चिन्तन मननमा केन्द्रित भयो । पोखरामा प्रमुख पर्यटकीय गन्तब्य फेवातालमा जलविहार गरेर पर्यटन दिवस मनाइएको छ ।
कोरोना संक्रमण रोकथामका लागि गत चैतमा देश लकडाउनमा गएदेखि नै सुनसान रहेको पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा पर्यटन दिवशको दिनमा भने चहलपहल देखियो ।
डुंगा सयर गर्दै पर्यटन क्षेत्रका अगुवा, स्थानीय सरकार र प्रदेश सरकारले पर्यटन क्षेत्रको भविश्यको बारेमा चिन्तन गर्दै थिए । पारी रानी वन र वारी लेकसाइड दुवैतिरको दृष्य अवलोकन गर्दै डुंगा सयर गरिरहँदा व्यवसायीहरुमा नयाँ आशा पलाएको छ ।
कोरोनाले संक्रमणले कति व्यवसायी विस्थापित भइसके केही अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अहिले अवस्था केही सामान्य भए पनि पर्यटकीय गतिविधि भने गुल्जार हुन बाँकी नै छ । आन्तरिक पर्यटनलाई खुल्ला गरेर अहिलेको संकटलाई अन्त्य गर्नुपर्नेमा व्यवसायीले जोड दिँदै आएका छन् ।
विदेशबाट पर्यटक आउलान र व्यवसाय संचालन गरौंला भनेर पर्यटन क्षेत्र अगाडि बढ्ने अवस्था छैन् । स्थानीय सरकार र प्रदेश सरकार पर्यटकीय क्षेत्रलाई अगाडी बढाउन आवश्यक सहयोग गर्ने पक्षमा देखिएका छन् ।
अँध्यारो पछि उज्यालो आउँछ भन्ने आशामा पर्यटन व्यवसायी छन् । अहिले तत्कालै विदेशी पर्यटक आइहाल्ने अवस्था नरहे पनि आन्तरिक पर्यटनले पर्यटन व्यवासाय बचाउन सकिन्छ कि भन्ने झिनो आशा व्यवसायीमा छ ।
प्रतिक्रिया