Main News

दसैंको यात्राः बसको अग्रिम टिकट खुल्ने वा नखुल्ने अन्योल कायमै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ११ गते २०:१७
दसैंको यात्राः बसको अग्रिम टिकट खुल्ने वा नखुल्ने अन्योल कायमै (भिडियोसहित)

११ असोज, २०७७, काठमाडौं । दसैं सुरु हुन अब तीन हप्ता पनि बाँकी छैन् । तर विगतका वर्षहरुमा एक महिनाअघि नै खुल्नुपर्ने अग्रिम बस टिकट बुकिङ अझै खुल्न सकेको छैन् ।

दसैंमा काठमाडौं उपत्य‍काबाट लाखौँ यात्रु एकै पटक घर जाने भएकाले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ एक महिनाअघि नै खुलाउने चलन थियो ।

अग्रिम टिकट बुकिङ खुलाउँदा लामो दूरीका यात्रुलाई आफूलाई पायक पर्ने दिन घर जान र यातायात व्यवसायीलाई समेत बस व्यवस्थापन गर्न सहज हुन्छ । तर दसैं सुरु हुन तीन हप्ताभन्दा कम समय बाँकी हुँदा समेत अग्रिम टिकट बुकिङ खुलेको छैन् ।

समग्र यातायात क्षेत्रको व्यवस्थापनको जिम्मा बोकेको यातायात व्यवस्था विभागले भने विगतको जस्तो परिस्थिति नभएकाले अग्रिम टिकट बुकिङ खुलाउन हतार नगरिएको बताएको छ । कोरोना भाइरसको संक्रमणका कारण अनलाइन टिकट बुकिङमा जोड गर्ने गरी तयारी भइरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन ढिलाई भएको विभागको प्रष्टोक्ति छ ।

कोरोना भाइरसको संक्रमणका कारण झन्डै ६ महिना लामो दूरीको सार्वजनिक यातायात बन्द थियो । त्यो यातायात स्वास्थ्यसम्बन्धि कार्यविधि पालनासहित असोज १ गतेबाट सञ्चालनमा आएको छ । कार्यविधिले सम्पूर्ण स्वास्थ्य मापदण्ड पालनासहित आधा मात्रै यात्रु चढाउन निर्देशित गरेकाले यो वर्ष एउटा सिटमा एक जना मात्र राखेर बस चलाउन पाइनेछ ।

तर दसैंमा काठमाडौं उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने भएकाले आधा मात्र यात्रु राख्दा बस व्यवस्थापन गर्न सकिने–नसकिने अन्यौल छ । तैपनि विभागले भने कोरोनाका कारण धेरैजसो मानिस यसअघि नै घर गइसकेकाले त्यस्तो समस्या नरहने दाबी गर्दै आएको छ ।

विभागले भनेझैं कोरोनाका कारण यो वर्ष दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या कम हुने अनुमान छ । त्यसैले बस व्यवस्थापनको समस्या अहिले छैन् ।

यस्तै सरकारले आधा भाडा बढाइदिएकाले भाडा बढाउनुपर्ने माग राखेर व्यवसायीले यो वर्ष अड्को थापेका छैनन् । यस्तोमा अग्रिम बस टिकट बुकिङ खुलाउन ढिलाई गर्नुपर्ने विभागसँग कुनै कारण छैन् । त्यसैले सबै सरोकारवाला क्षेत्रसँगको समन्वयमा यथाशिघ्र अग्रिम बस टिकट बुकिङ खुलाउन विभागले ढिलाई गर्नुहुँन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *