मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न नेकपाका दुई अध्यक्षद्वयबीच छलफल हुँदै
११ असोज, २०७७ काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र पार्टीको एकताका बाँकी काम टुंगो लगाउन आज पनि सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मन्त्रिमण्डल पुनर्गठन तत्काल गर्नका लागि छलफललाई तिब्र पार्नुभएको हो । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनबारे अर्का अध्यक्ष प्रचण्डसँग दैनिकजसो छलफल गरिरहनुभएको छ ।
पार्टीले दुई अध्यक्षलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मेवारी दिइसकेकाले उहाँहरु छलफलमा जुट्नुभएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।
हिजो साँझ हुने भनिएको छलफल स्थगित भएपछि आज पुन दुई अध्यक्षबीच छलफल हुन लागेको हो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक आयोगमा नियुक्तिका बारे दुई नेताबीच निरन्तर छलफल भइरहेको बताउनुभयो ।
सचिवालय बैठकले पार्टी एकतालाई मजबुत बनाउन १० दिनभित्र पार्टीको साङ्गठानिक कार्ययोजना पेस गर्न पनि दुई अध्यक्ष र महासचिवलाई जिम्मा दिएको थियो ।
उहाँहरुबीच सबै मन्त्री फेर्ने वा दुई वर्ष पूरा भएकालाई हटाउने र बाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अरुलाई फेरबदल गर्ने भन्ने विकल्पमा छलफल भैरहेको छ ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल दुई वर्षको कार्यकाल पूरा गरेका सबै मन्त्री फेरबदल गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।
प्रतिक्रिया