Main News

जनतालाई भोक र रोगबाट बचाउन सरकारलाई संसदीय समितिको निर्देशन

हिमालय टिभी
२०७७ असोज ९ गते १७:३१
जनतालाई भोक र रोगबाट बचाउन सरकारलाई संसदीय समितिको निर्देशन

९ असोज, २०७७ काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्याङ्क सङ्कलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित समितिको कक्षमा आज बसेको बैठकले उक्त वर्गलाई रोग तथा भोगबाट बचाउनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी आवश्यकताअनुसार सहयोग व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति निरुदेवी पालले महामारीले ठूलो रुप लिएर फैलिँदै गएको हुनाले कानूनी, विधिगत संयन्त्रको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभयो ।

महामारीका कारण कोरोना र मनसुनजन्य प्रकोपबाट समाज र देश नै प्रभावित भएको ठहर गर्दै खाद्यान्नको माग र आपूर्ति नमिल्दा अन्तराष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वभर बजारमा ८० प्रतिशतको रोजगार कटौती भएको जनाइएको छ ।

बैठकले भारतबाहेक अन्य मुलुकमा काम गरिरहेका करिब ४० लाख नेपालीको रोजगारी प्रभावित हुनसक्ने पूर्वआँकलन गरिएको हुनाले गरिबी तथा बेरोजगारी बढने हुँदा महामारीको अवस्थामा परेका व्यक्तिको तत्काल अध्ययन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

बैठकमा नेपाली काँग्रेसका पुष्पा भुसालले रोग र भोगबाट बचाउनका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले भरपुर सहयोग गर्नुपर्ने र निर्वाचनको बेलामा मतदाताको नामावली सङ्कलन गरेझै विपद्मा परेका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न बैठकमा सुझाव दिनुभएको थियो । समितिमा अरु सांसदले पनि महामारीमा जनतालाई भोक र रोगबाट बचाउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *