Main News

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुबाट प्लाज्मा दान अभियान शुरु

हिमालय टिभी
२०७७ असोज ७ गते १४:०६
कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुबाट प्लाज्मा दान अभियान शुरु

७ असोज, २०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् ।

कोभिड १९ संक्रमणमुक्त भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमणमुक्त भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् ।

काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड–१९ संक्रमणमुक्त भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन् । उनीहरुले ‘मैले जितेँ कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् ।

कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताउनुभयो । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा कोभिड–१९ संक्रमणमुक्त भएका व्यक्तिहरुले संक्रमितहरुको आत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरुले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेको बताए । ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान शुरु गरिएको उनीहरुले बताए ।

पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा विरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्ने पनि उनीहरुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *