Main News

हुम्लामा चीनले सीमा मिचेको विरोधमा राजधानीमा प्रदर्शन, चीनद्वारा अतिक्रमण अस्वीकार

हिमालय टिभी
२०७७ असोज ७ गते १३:०७
हुम्लामा चीनले सीमा मिचेको विरोधमा राजधानीमा प्रदर्शन, चीनद्वारा अतिक्रमण अस्वीकार

७ असोज, २०७७ काठमाडौं । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ । तर चिनियाँ सेनाले भने भवन निर्माण भएको भूमि चीनकै भएको बताएको छ ।

यसैबीच हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ।

दूतावासका प्रवक्ताले विज्ञप्ति निकालेर चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको दोहोर्‍याएको छ। हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्थलगत अध्ययन गरी चिनियाँ पक्षसँग छलफल समेत गरेको थियो।

प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले त्यो क्षेत्रमा पुगेर चिनियाँ पक्षसँग छलफल गरेको तर दुवै पक्षले आआफ्नो भूभाग भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो ।

चिनियाँ सेनाले नक्सा नै देखाएर त्यो भाग आफ्नो भएको दाबी गरेको उहाँको भनाइ छ । नेपाली सेनाले पनि नक्सा देखाउँदै त्यो भाग नेपालमा पर्ने दाबी गरेको थियो। तर ११ नम्बर पिलर पत्ता नलागी प्रस्ट हुने अवस्था नरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले अब ११ नम्बर पिलर खोज्ने र चिनियाँ पक्षसँग छलफल गर्ने काम राज्यको भएको बताउनुभयो । तर यसबारे नेपाल सरकारले भने केही बोलेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *