Main News

काठमाडौंका अस्पतालमै बिरामीको विजोग, भर्ना हुन चक्कर काट्न बाध्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ५ गते २०:१५
काठमाडौंका अस्पतालमै बिरामीको विजोग, भर्ना हुन चक्कर काट्न बाध्य (भिडियोसहित)

५ असोज, २०७७ काठमाडौं । देशमा कोरोना संक्रमण फैलिएसँगै सामान्य बिरामीले स्वास्थ्य संस्थामा उपचार पाउन कठिन बन्दै गएको छ । अस्पतालले समयमा उपचार गर्न नमानेका कारण कैयौंले अकालमै ज्यान गुमाएका खवर पनि आइरहेका छन् ।

काठमाडौं बाहिरका स्वास्थ्य संस्थाले मात्र हैन, काठमाडौंकै ठूला अस्पतालले समेत बिरामीको उपचार गर्न मान्दैनन् । बिरामी र उनीहरुका आफन्तले काठमाडौंका अस्पतालमा भोग्नु परेका समस्या अब हामी देखाउँदै छौँ ।

यो काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हो । यो अस्पतालमा हिजोआज दिउँसो १ बजेसम्म कोरोनाको पीसीआर परीक्षण गर्नेको लाम हुन्छ । सरकारले तोकेको कोभिड अस्पताल भएका कारण यहाँ संक्रमितको उपचार गरिन्छ ।

कोरोना पुष्टि नभएका तर कोरोना संक्रमणको आशंका गरेका विरामीलाई अरु स्वास्थ्य संस्थाले यहीँ पठाउने गरेका छन् । त्यसैले उपचारको आशमा टाढा टाढाबाट बिरामी एम्बुलेन्समा राखेर ल्याइन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा रोकिएको यो एम्बुलेन्समा सर्लाहीदेखि बिरामीलाई ल्याइएको छ । एचआईभी संक्रमित महिलामा स्वास्थ्य समस्या देखिएपछि सर्लाहीका अस्पतालले टेकु लैजानु भने त्यसैले छिमेकीले एम्बुलेन्स खोजेर यहाँ ल्याए ।

बिरामीलाई अस्पताल ल्याइयो अब त उपचार हुन्छ भन्ने आशले अस्पताल छिरेका बिरामीका छिमेकीलाई अस्पतालले यहाँ कोरोना संक्रमितको मात्र उपचार हुन्छ अनि बेड पनि खाली छैन भन्ने जवाफ दिए ।

एक घन्टा यसरी एम्बुलेन्समा राखेर उपचारका लागि धेरै अनुनय विनय गरिन्छ उपचार गरिदेउ भनेर अनुनय विनय गर्दा अर्कोतिर विरामीको नाक र मुखबाट रगत बगिरहेको थियो । तर केही सीप चलेन ।

आकस्मिक कक्षको ढोकैमा एम्बुलेन्समा छटपटाइहेका बिरामीलाई स्वास्थ्यकर्मीले छुँदा पनि छुँदैनन् । त्यहाँ रहेका प्रहरीले अन्तै लैजान दबाब दिइरहन्छ।

टेकुले भर्ना नगर्ने भनेपछि बिरामीलाई वीर अस्पताल लगिन्छ । तर यहाँ पनि उस्तै हुन्छ । कोरोनाका बिरामीको मात्र उपचार गर्ने भनेर बिरामी लिन अस्वीकार गरिन्छ ।

बिरामीको आर्थिक अवस्था कमजोर रहेको र चन्दा उठाएर बिरामीलाई ल्याएको भन्दै उनीहरुले धेरै विन्ती गर्छन् । बल्लबल्ल वीर अस्पताल शर्तसहित बिरामी भर्ना गर्न तयार हुन्छ । र बिरामीलाई अस्पतालको आकस्मिक वार्डमा लगिन्छ ।

एउटा सिकिस्त बिरामीलाई अस्पताल भर्ना गर्न बेहोर्नु परेको यो सास्तीले बिरामीका छिमेकीलाई मान्छे कोरोनाबाट भन्दा उपचार नपाएर अरु नै रोगले मर्छन् भन्ने लागेको छ ।

अहिले सरकारले कोरोना संक्रमितका लागि भनेर ४४ सरकारी र १३ गैरसरकारी अस्पताललाई कोभिड अस्पताल बनाएको छ । जहाँ कोरोना संक्रमित बाहेक अन्यको उपचारलाई खासै महत्व दिइँदैन ।अरु अस्पतालमा ठीक उल्टो कोरोना पो छ कि भनेर भर्ना लिन अस्वीकार गरिन्छ । त्यसैले ठाउँ ठाउँमा उपचार नपाएर विरामीले ज्यान गुमाईरहेका छन । कोरोनाका नाममा यस्तो ज्यादती कहिलेसम्म ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *