Main News

तेजाब आक्रमण र विक्रीवितरण नियमन गर्ने दुई अध्यादेश मन्त्रिपरिषदमा पेस हुँदै

हिमालय टिभी
२०७७ असोज ५ गते १३:१६
तेजाब आक्रमण र विक्रीवितरण नियमन गर्ने दुई अध्यादेश मन्त्रिपरिषदमा पेस हुँदै

५ असोज, २०७७ काठमाडौं । तेजाब आक्रमणका घटना र तीनको जथाभावी खरिदबिक्री नियन्त्रणका लागि भन्दै सरकारले ल्याउन लागेको दुई वटा अध्यादेशको मस्यौदा आजको मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ ।

सरोकारवालासँगको छलफलपछि प्राप्त सुझावका आधारमा तयार पारिएको अध्यादेशको मस्यौदा आज बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी रहेको कानून मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

मन्त्रालयले गृहमन्त्रालयबाट समेत रायसुझाव लिएर अन्तिम रुप दिन कानून आयोगमा पठाएको थियो । जसअनुसार आयोगले मस्यौदालाई अन्तिम रुप दिएर शुक्रबार मन्त्रालयमा फिर्ता गरेको थियो ।

मन्त्रालयले तयार पारेको मस्यौदामा तेजाब आक्रमणबाट अंगभंग बनाए वा शरीर कुरूप बनाए २० वर्षसम्म कैद हुने व्यवस्था राखिएको छ । ज्यान गएको हकमा भने अहिले भएकै अधिकतम सजाय जन्मकैदलाई यथावत राखिएको छ ।

यसबाहेक तेजाब आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि व्यवस्था पनि मस्यौदामा समावेश छ । यस्तै तेजाब खरिदबिक्री गर्ने सम्बन्धमा पनि नियमनको पाटोलाई कडा रुपमा कार्यान्वयन गर्ने गरी मस्यौदा तयार पारिएको मन्त्री तुम्बाहाङ्फेको भनाइ छ ।

पछिल्लो समय तेजाब आक्रमणको घट्ना बढ्न थालेपछि गएको भदौ २५ गते प्रधानमन्त्री केपी शर्मा ओली आफैंले पीडितलाई बालुवाटारमा बोलाएर छलफल गर्दै १५ दिनभित्र मस्यौदा तयार पार्न मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशन लगत्तै मन्त्रालयले काम अघि बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *