विश्व विख्यात पर्वतारोही आङरिता शेर्पाको निधन
![विश्व विख्यात पर्वतारोही आङरिता शेर्पाको निधन](https://www.himalayatv.com/wp-content/uploads/2020/09/angrita-sherpa.jpg)
५ असोज, २०७७ काठमाडौं । विश्व विख्यात पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ।
हिउँ चितुवा उपनामले चर्चित शेर्पाको आज बिहान जोरपाटीस्थित निवासमै निधन भएको हो। ७२ वर्षीय शेर्पाको जन्म सोलुखुम्बुको थामेमा भएको थियो ।
उहाँले सन् १९ सय ८३ देखि सगरमाथा आरोहण शुरु गर्नु भएको थियो । बिनाअक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेको विश्व कीर्तिमान उहाँको नाममा छ।
शेर्पा विगत ३ वर्षअघिदेखि बिरामी हुनुहुन्थ्यो । वहाँ कलेजो र मस्तिष्क सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
१० पटक अक्सिजनबिनै सगरमाथाको सफल आरोहण पश्चात तत्कालीन राजा वीरेन्द्रले स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि उहाँले आरोहणबाट विश्राम लिनुभएको थियो । उहाँको आगामी बुधबार दाहसंस्कार गरिने छ।
आङरिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मनुभएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।
आरोहणका क्रममै रहनुभएका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उहाँ बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उहाँ आरोहणमा नगएको परिवारको भनाइ छ ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित हुनुभएको थियो ।
दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उहाँकी छोरी डोमाले बताउनुभयो ।
यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ । आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । उहाँको सात वर्षअघि पत्नीको निधन भएको थियो ।
प्रतिक्रिया